एमालेले काम गर्न नदिएको भन्दै मेयरले फिर्ता गरे सरकारी गाडी, सेवासुविधा नलिने घोषणा

मोरङको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले सरकारी गाडी फिर्ता गरेका छन् । फागोले आफूले चढ्दै आएको को १ झ ५७० नम्बरको गाडी नगरपालिकालाई नै फिर्ता दिएको घोषणा गरेका हुन् ।
विकासका गतिविधि अघि बढाउन नसकिएको भन्दै सरकारी गाडी फिर्ता गरेको उनले बताएका छन् ।
नेकपा एमालेका जनप्रतिनिधिहरूले बहुमतको दम्भ देखाएर जनताको काम रोकेको उनको आरोप छ । उनी काङ्ग्रेसबाट मेयरमा निर्वाचित भएका थिए। एमालेबाट निर्वाचित उपमेयर लक्ष्मीदेवी भण्डारीसहित बहुमत कार्यपालिका सदस्यले विकासका योजना अघि बढाउन नदिएपछि नैतिक रूपमा अप्ठेरो परेकाले गाडी फिर्ताको निर्णय लिएको फागोले बताए ।
गत चैत १६ गते उर्लाबारी नगरपालिका कार्यपालिकाको बैठक बसे पनि बैठकमा प्रस्तुत भएका प्रस्ताव अघि बढाउन नेकपा एमालेबाट निर्वाचित उपमेयर लक्ष्मीदेवी भण्डारीसहित बहुमतप्राप्त कार्यपालिका सदस्यहरू नमानेपछि निर्णय हुन सकेन ।
‘विभिन्न कार्यविधि निर्माणका साथै प्रत्येक वडामा तीस लाखका दरले सडक कालोपत्रे साथै अन्य विविध गरी ६ करोड ३७ लाखको सञ्चित कोषको बजेटबाट विकासलाई अघि बढाउन खोजेका थियौँ’ मेयर फागोले भने, ‘कार्यपालिकामा बहुमत रहेका नेकपा एमालेका साथीहरूले निर्णय गर्न नदिएपछि विकास रोकिएको छ । यस्तो अवस्थामा सरकारी गाडी चढेर हिँड्नु उपयुक्त नहुने ठानेर गाडी फिर्ता गरेको हुँ ।’
उनले काँग्रेसबाट निर्वाचित वडाध्यक्षहरूलाई पनि मोटरसाइकल फिर्ता गर्न आग्रह गरेका छन् । एमालेको अवरोधका कारण जनताको काम गर्न नसकेकोमा दुःख व्यक्त गर्दै फागोले चैत महिनादेखि आफूले सेवा सुविधा नलिने घोषणा पनि गरे । उनले आफूसहित सबै जनप्रतिनिधिहरूको सेवा सुविधा भुक्तानी नगर्न लेखा प्रशासनलाई निर्देशन दिएको बताएका छन्।
यता उपमेयर लक्ष्मीदेवी भण्डारीले आफूमाथि मिथ्या आरोप लगाएको बताउँदै उनले उक्त आरोपको खण्डन गरेकी छिन् । जनप्रतिनिधि आएपछि २५ कार्यविधि, १८ वटा ऐन, ६ वटा नियमावली, ४ वटा निर्देशिका र १ वटा आचारसंहिता बनाएको बताउँदै उहाँले थप कार्यविधि बनाउन खोज्दा एमालेका जनप्रतिनिधिले रोकेको दाबी गरिन ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार