एमाले संसदीय दलको बैठक जारी, वामदेव गौतम सहभागी

नेकपा एमाले संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । शनिबार बिहान साढे १० बजे बोलाइएको बैठक ढिलो गरी सुरु भएको हो । शनिबारको बैठकमा नेकपा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका छन् । एमालेको कुनै पनि पक्षमा नखुलेका गौतम शनिबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको एमाले संसदीय दलको बैठकमा सहभागी भएका हुन् ।

बालुवाटारमा बैठक आयोजना गरिएको भन्दै झलनाथ खनाल-माधवकुमार नेपाल समूहले भने संसदीय दलको बैठक बहिष्कार गरेको छ । बालुवाटारमा संसदीय दल र केन्द्रीय बैठक बोलाइएकै बेला खनाल-नेपाल समूहले भने राष्ट्रिय सभा गृहमा युवा संघको राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्दैछ ।

संसदीय दलको बैठकपछि केन्द्रीय समितिको बैठक बस्ने एमालेका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए । १२ औँ केन्द्रीय कमिटीको बैठकले महाधिवेशन आयोजक कमिटी बनाउने उनको भनाई छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले सरकार र पार्टी, समसायिक राजनीतिको विषयमा छलफलका गर्न बैठक बोलाएका हुन् ।

संसदीय दलको बैठकले एमालेको संसदीय दलसम्बन्धी विधानलाई संशोधन गर्ने बताइएको छ । यही चैत ५ गते बसेको संसदीय दलको बैठकले एमालेका प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय विधान संशोधन कार्यदल गठन गरेको थियो । यो कमिटीले बैठकमा विधान संशोधनसम्बन्धी तयार पारेको प्रस्ताव पेश गर्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार