गण्डकी प्रदेश सरकारको भविष्य अनिश्चित, एमाले सांसदले मागे सभामुखको राजीनामा

दलीय राजनीतिबाट प्रेरित भएर सदन स्थगित गरेको आरोप

सोमबारदेखि शुरु भएको गण्डकी प्रदेश सभा अनिश्चितकालका लागि स्थगित भएको छ । राष्ट्रिय जनमोर्चाको तर्फबाट प्रदेश सभा सांसद खिमविक्रम शाही सम्पर्कविहिन भएपछि सदन स्थगित भएको हो । मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव पक्ष र विपक्षमा संसदको बोल्ने क्रम सकिने र मतदानको चरण शुरु हुनै लाग्दा सुचना टाँसेर संसद अनिश्चितकालका लागि स्थगित भएको हो ।

अविश्वासको पक्ष र विपक्षमा नेक टु नेकको अवस्थामा शाही सम्पर्कविहिन भएपछि राष्ट्रिय जनमोर्चा ससंदीय दलकी सचेतक पियारी थापाले शाहीको जिवनरक्षाको मागसहित अवस्था सार्वजनिक नहुँदा सम्म सदन स्थगित गर्न निवेदन दिएकी थिइन् ।

थापाले दिएको निवेदन अनुसार सभामुख नेत्रनाथ अधिकारीले शाहीको अवस्था सार्वजनिक नहुँदा सम्म सदन स्थगित गरिदिएका हुन् । मतदानको चरण शुरु हुनै लाग्दा एकाएक सदन स्थगित भएको सुचना टाँसेपछि एमाले पक्षका सासंदहरुले अविश्वास प्रस्ताव फेल हुने डरले सभामुखले सदनका काम अघि बढनबाट रोकेको भन्दै सभामुखको राजीनामा माग्न थालेका छन ।

प्रदेश सभाको बुधबार बसेको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध पेस भएको अविश्वास प्रस्तावमा मतदान हुने कार्यसूची थियो । सदनमा बुधबार २० जना सांसदले बोलेपछि मुख्यमन्त्री गुरुङले जवाफ दिने र मतदान गर्ने भनिएपनि दुईजना सांसद अनुपस्थित थिए ।

स्वतन्त्र सांसद राजिव गुरुङ ‘दिपक मनाङे’ र राष्ट्रिय जनमोर्चाका सांसद बैठकमा उपस्थित थिएनन । स्वतन्त्र सांसद गुरुङले आफु मुख्यमन्त्री विरुद्ध टेबुल भएको अविश्वासको पक्षमा लाग्न नसकेकाले अनुपस्थित रहेको प्रतिक्रिया दिएका छन भने शाही बुधबार दिउँसो एक्कासी बिरामी भएको भन्दै अस्पताल भर्ना भएका छन ।

यस्तै बैठकमा अनुपस्थित रहेका मनाङ ‘ख’बाट निर्वाचित दीपक मनाङेले भने आफूलाई मनाङका जनताले मुख्यमन्त्री गुरुङविरुद्ध मत नहाल्न भनेपछि सदनमा अनुपस्थित भएको प्रतिक्रिया दिएका छन् । ‘मलाई मेरा मनाङका जनताले पिएसविरुद्ध नलाग्न भनेपछि म नगएको हुँ,’ अन्तिम समयमा मैले निर्णय लिनेछु । उनले टिभी अन्नपूर्णसँगको कुराकानीमा भनेका छन ।

संसदमा सङख्यात्मक हिसाबले अविश्वास प्रस्तावको पक्ष र विपक्षमा नेक टु नेकको अवस्था थियो । विपक्षी मोर्चामा सामेल सांसद शाहीले मत नहाल्दा मुख्यमन्त्री विरुद्ध पेस गरेको अविश्वास प्रस्ताव फेल हुने अवस्था थियो ।

यद्यपी कर्णाली प्रदेशको नजिरलाई हेर्दा मुख्यमन्त्रीको पार्टी नेकपा एमालेका सांसद इन्द्रलाल सापकोटाले फलोर क्रस गरेर भएपनि गुरुङ सरकार ढाल्ने सम्मको रणनीतिमा थिए । यस्तो अवस्था आउनुपूर्व नै विपक्षी मोर्चा सशंकित भएकाले सभामुखले विपक्षीको दबाबमा बैठक स्थगन गरेको एमाले जानकारहरु बताउछन ।

विहान नेगेटिभ रिपोर्ट आएका शाही कोभिड कक्षमा भर्ना :

मंगलबार एमाले सांसदहरुले कोरोना परिक्षण नगरेसम्म बैठक चल्न नसक्ने भन्दै विरोध जनाएपछि गरिएको परिक्षणमा सांसद शाहीको रिर्पोट नेगेटिभ आएको थिए । उक्त रिर्पोट टिभी अन्नपूर्णसँग सुरक्षित छ । तर, बिहान नेगेटिभ रिर्पोट बुझेका शाही एकाएक कसरी कोभिड कक्षमा पिसिआरको पोजेटिभ रिर्पोटसहित भर्ना भए यो रहस्यको विषय छ । शाहिको दल राष्ट्रिय जनमोर्चा संसदीय दलका नेता कृष्ण थापाले समेत यसमा आश्चर्य प्रकट गरेका छन ।

थापाको सदन सुरु हुनु अगाडि शाहीसँग फोनमार्फत प्रदेश सभामा प्रस्तुत मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव र आजको संसदको कार्यसुचीबारे कुराकानी भएको थियो । बैठकमा ढिलासम्म उपस्थित नभएका शाहीले मतदान हुँदासम्म आउँछु भन्नुभएको थियो, अहिले कहाँ जानुभयो थाहा भएन,’ जनमोर्चा संसदीय दलका नेता थापाको भनाई छ ।

के हो प्रदेश सभाको अंकगणित ?

६० सदस्यीय प्रदेश सभामा अविश्वासको प्रस्ताव पारित हुन ३१ मत चाहिन्छ । राष्ट्रिय जनमोर्चाका ३ सासंदसहित बनेको विपक्षी मोर्चामा खिमविक्रम शाही सहित ३१ सांसद पुग्ने आँकलन थियो । यस्तै सत्तारुढ एमालेसँग एक स्वतन्त्र सांसद सहित २८ सांसद छन । स्वतन्त्र सांसद राजिव गुरुङ पर्ख र हेरको अवस्थामा हुदाँ दुवै पक्षले आफुलाई सहयोग गर्ने अपेक्षा राखेको भएपनि शक्तिका पछाडी दौडने गुरुङले अन्तिम समयमा मुख्यमन्त्री गुरुङकै पक्षमा उभिने निश्चित थियो । अहिलेसम्म दुवै पक्षले सामान्य कसरतबाटै आफुलाई बलियो आँकलन गरेकाले अर्को बाटोमा नलागेको अन्तिम अवस्था आईपर्दा गण्डकी प्रदेशको सवालमा दुवै पक्षले आफ्नो पक्षमा बहुमत जुटाउन जुनसुकै हर्कत गर्न पनि पछि नपर्ने रणनीति बनाएको गण्डकी प्रदेशको राजनीतिलाई नजिकबाट नियाल्नेहरुको बुझाई छ । भन्छन अन्तिम अवस्थामा सत्तापक्षले बादल नजिक रहेका माओवादी केन्द्रका सासंद तथा विपक्षीले एमालेको नेपाल खनाल समूहका सांसदलाई फ्लोर क्रस गराउने सम्मको योजना रहेको बुझिएको छ । यसर्थ गण्डकी प्रदेश सरकारको भविष्यबारे हतारमा विश्लेषण गर्न नहुने देखिन्छ ।

एमाले सांसदले मागे सभामुखको राजीनामा 

एमाले सांसद राजिव पहारीले इतिहासमै नभएको घटना सभामुखले गण्डकीमा गराएको भन्दै सभामुखले राजीनामा दिनुपर्ने बताएका छन् । सांसद अनुपस्थित हुँदैमा सदन स्थगित गर्नु दलीय राजनीतिबाट प्रेरित अलोकतान्त्रिक काम भएको पहारीको भनाई छ ।

एक जना सांसद अनुपस्थित भएपनि सदनको पुरै कामकारबाही स्थगित गर्दै जाने कार्यले संसदको गरिमालाई कायम राख्न नसक्ने भएकाले तत्काल सभामुखले राजीनामा दिनुपर्ने उनको माग छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार