रुसी भूमीमा युक्रेनले आक्रमण सुरु गर्याे , अमेरिकाले ३०० मिलियन डलरको सैन्य सहयोग दिने

युक्रेनी सेनाले रुसमा रहेको इन्धन भण्डारण केन्द्रमा आक्रमण गरेको छ । आज शुक्रवार बेलग्रोदमा रहेको विमानस्थलमा रहेको इन्धन भण्डारण केन्द्रमा युक्रेनी सेनाले दुई वटा हेलिकप्टरबाट आक्रमण गरेको बीबीसीले जनाएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले यस्ता आक्रमणले रुस–युक्रेन बीचको शान्ति वार्तालाई प्रभावित पुर्‍याउन सक्ने बताउनुभएको छ । यसअघि बेलग्रोद क्षेत्रका गभर्नरले युक्रेनी आक्रमणमा तेल डिपो जलेर नष्ट भएको बताउनुभएको थियो । आक्रमणमा मानवीय क्षति भने नभएको खबरमा जनाइएको छ । केही समययता रुस र युक्रेनबीचको द्वन्द्व चलिरहेको छ ।

यसैबीच रुस–युक्रेन युद्धका कारण विश्वभर वस्तुको मूल्य आकाशिएको छ । यसले विश्वव्यापी रूपमा उपभोक्ताहरूलाई ऊर्जादेखि खानासम्मका विभिन्न वस्तुहरूका लागि बढी रकम तिर्नुपरेको अन्तर्राष्ट्रियस्तरका अर्थविज्ञहरूलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

बेलायतमा पेट्रोल र डिजेलको मूल्यले ‘झन्डै दैनिक’ रेकर्ड तोडेको छ । डेनमार्कमा पनि पेट्रोलियम पदार्थको भाउ उसैगरी बढेको छ । तेलको मूल्य बढेसँगै उपभोक्ताले आफ्नो खर्च कटौती गर्ने निर्णय गरेका छन् । मूल्य वृद्धिको प्रभाव युरोपबाहिर पनि परेको छ । धेरैले युक्रेन सङ्कटसँगको निकटता र रुसको ऊर्जामा निर्भरताका कारण युरोपले स्पिलओभरको असर लिने धारणा राखेका थिए । द्वन्द्वको विकास र विश्वव्यापी बजारमा धक्का लाग्दा विश्वव्यापी उपभोक्ताहरूले पीडा महसुस गरिरहेका छन् ।

मध्यपूर्वका धेरै देशले अन्न, तेल र मासुको मूल्य पनि बढेको बताएका छन् । रुस–युक्रेन द्वन्द्व चलिरहेको अवस्थामा मूल्यहरू उच्चस्तरमा रहने वा अझै बढ्ने अपेक्षा गरिएको र तत्काल समाधान नहुने टिप्पणीहरू भइरहेका सिन्ह्वाले जनाएको छ ।

यस्तै अमेरिकाले युक्रेनलाई थप ३०० मिलियन डलरको सुरक्षा सहयोग सहयोग गर्ने भएको छ।शुक्रबार अमेरिकाको रक्षा मन्त्रालयले युक्रेनलाई दिने थप सहयोग घोषणा गरेको हो। नयाँ योजनासँगै अमेरिकाले युक्रेनलाई दिने समग्र सैन्य सहयोग २ अर्ब ३० करोड डलर नाघेको छ।

अहिले अमेरिकाले घोषणा गरेको सहयोगमा आत्मघाती ड्रोन, एन्टि ड्रोन प्रणाली, सैन्य गाडीहरु, नाइट भिजन उपकरण, गोलाबारुदलगायतका सहयोग समावेश छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार