पेट्रोलियम पदार्थको बिक्रीबापतको कमिसनको रकम नपाएको भन्दै व्यवसायीहरुले ढुवानी रोकेका छन् । जसको कारणले सर्वसाधारण मर्कामा परेका छन् । आयल निगम अमलेखगञ्जका ढुवानी व्यवसायीले शुक्रबारदेखि पेट्रोलियम पदार्थ ढुवानी ठप्प पारेका छन् । पेट्रोलको ढुवानी ठप्प हुँदा तीनवटा प्रदेशका उपभोक्ता प्रभावित बनेका छन् ।
निगमको अमलेखगञ्ज डिपोले भारतको बरौनीबाट दैनिक २५ देखि ४० ट्याङ्कर पेट्रोल आयात गर्दै आएको छ । सो पेट्रोलियम पदार्थ यहाँबाट वाग्मती, गण्डकी र मधेस प्रदेशका अधिकांश जिल्ला ढुवानी हुने गर्छ । शुक्रबारदेखि भएको हडतालले तीनवटै प्रदेशका उपभोक्ताहरू मारमा परेका छन् ।
नेपाल आयल निगमले तेल बिक्रेताहरूलाई कुल बिक्रीको ३ प्रतिशत रकम कमिसन बापत दिँदै आएको थियो । पछिल्लो समय लगातारको मूल्यवृद्धिका कारण निगमले पेट्रोलियम पदार्थमा दिँदै आएको कमिसन फागुन १९ गतेदेखि कटौती गरेको छ । कमिसन बापतको रकम कटौती गरेपछि राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले शुक्रबार विज्ञप्ति जारी गरेर ढुवानी ठप्प पारेको हो ।
पेट्रोलियम बिक्रेताले प्रतिशतमा पाउँदै आएको कमिसन फागुन १९ गतेबाट स्थगन गरिएकोमा सोही मितिबाट लागु हुनुपर्ने समितिको माग छ । साथै, २०७७ मङ्सिर १८ गतेबाट स्थगन गरिएको पेट्रोल बिक्रेताहरूले प्राप्त गर्नुपर्ने प्राविधिक नोक्सानी नापतौल तथा गुणस्तर विभागका महानिर्देशकको संयोजकत्वमा गठित अध्ययन समितिको प्रतिवेदन आधारमा लागु गर्नुपर्ने समितिको माग छ ।