श्रीलङ्का तनावः राष्ट्रपतिको भवन बाहिर हिंसात्मक प्रदर्शन

श्रीलङ्कामा चर्को महङ्गी, खानेकुरा, इन्धन र बिजुली अभावका विरुद्ध राष्ट्रपति भवन अगाडि विरोध प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरूमाथि प्रहरीले अश्रु ग्यास प्रहार गरेपछि त्यस क्षेत्रमा लागु गरिएको कर्फ्यू आदेश शुक्रवार बिहान हटाइएको छ।

बिहीवार आक्रोशित प्रदर्शनकारीहरूले त्यहाँ राखिएका छेकबारहरू भत्काउँदै अघि बढेका थिए। तिनीहरूमाथि राति एउटा बसमा आगो लगाएको आरोप समेत लगाइएको छ।राष्ट्रपति गोटबय राजपक्षले ती हिंसात्मक घटनाहरूका लागि उग्रपन्थी तत्त्वूहरूलाई दोष दिएका छन्।श्रीलङ्का चरम विदेशी मुद्रा अभाव भएर सङ्कटपूर्ण अवस्थाको मध्यमा छ जुन सङ्कटले देशको अर्थतन्त्रलाई पङ्गु बनाइदिएको छ।

देशमा दैनिक १३ घण्टा लामो समयसम्म विद्युत कटौती हुने गरेको छ, इन्धनको अभाव छ, अत्यावश्यक खानेकुरा र औषधिको अभावका माझ जनताको आक्रोश नयाँ चरम विन्दुमा पुगेको छ।राष्ट्रपति भवन अगाडि भएको विरोध प्रदर्शनको घटना शान्तिपूर्ण रूपमा आरम्भ भएको बताइएको छ।

तर प्रदर्शनकारीहरू भन्छन् प्रहरीले तिनीहरूमाथि अश्रु ग्यास, पानीको फोहोरा प्रहार गर्नुका साथै कुटपिट समेत गर्न थालेपछि अवस्था बिग्रिएको हो।प्रदर्शनकारीहरूले बदलामा प्रहरीमाथि ढुङ्गामुढा गरेका बताइएको छ।शुक्रवार बिहान प्रहरीले ४५ जनालाई गिरफ्तार गरेको तर कसैविरुद्ध कुनै अभियोग दर्ता नगरिएको जनाइएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार