सुनसरीको इटहरीको एक घरमा बम विष्फोट भएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले हिमाल सुरक्षा परिषद्का अध्यक्षसहित चार जनालाई पक्राउ गरेको छ ।
गत सोमबार राति इटहरी उपमहानगरपालिका– २ का अमिर श्रेष्ठको घरमा डेरागरी बस्ने लक्ष्मी थापाको कोठामा बम विष्फोट भएको थियो । विष्फोट हुँदा सोही स्थान बस्ने रविन थापा र लमजुङका शेरजङ गुरुङ घाइते भएका थिए ।
अनुसन्धानका क्रममा प्रहरीको ‘मस्ट वाण्टेड’ सूचीमा रहेका हिमाल सुरक्षा परिषद्का मुख्य नाइके सञ्जय भनिने ४३ वर्षीय खगेन्द्र खरेलसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घाइते युवक पनि छन् ।
बम विस्फोट घटनासँग जोडिएका खरेलसहित प्रहरीले २० वर्षीय घाइते थापा, थापाकी आमा आशा ठकुरी भनिने ३२ वर्षीया लक्ष्मीदेवी थापा ठकुरी, लम्जुङको ढोडेनी–७ बस्ने २३ वर्षीय घाइते गुरुङलाई शुक्रबार सार्वजनिक गरेको छ । खरेलको ठेगाना झापाको कन्काइ नगरपालिका–८ लक्ष्मीपुर रहेको बताइए पनि उनी पूर्वोत्तर भारतको आसामाका बासिन्दा भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनीमाथि झापाको विर्तामोड र दमकमा बम राखेको आरोप छ ।
खरेल २०७६ वैशाख २८ गते ‘गोर्खा जनमुक्ती पार्टी’को नाममा झापाको कनकाई नदी पुलमा बम राखेको आरोपमा पक्राउ परेका थिए । विष्फोटक पदार्थ तथा संगठित अपराध कसुरमा २ वर्ष पाँच महिना कैदपछि झापा कारागारबाट छुटे लगतै हिमाल सुरक्षा परिषद्मा आवद्ध भएको प्रहरीको दाबी छ ।