अविश्वास प्रस्ताव मतदान हुने बैठक चलिरहँदा २ सांसद सम्पर्कविहिन

दिपक मनाङले भने मेरो क्षेत्रका जनताले गुरुङ विरुद्ध जान दिएनन

मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावमाथि मतदान हुने बैठक चलिरहेका बेला आज २ जना सांसद अनुपस्थित भएका छन् । राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे अनुपस्थित भएका हुन् । दुवैको मोबाइल अफ छ । कुनै सांसदसँग उनको सम्पर्क छैन ।

जनमोर्चाको केन्द्रले नै अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । तीन सांसद रहेको जनमोर्चाका दुई सांसद पियारी थापा र कृष्ण थापा भने आजको प्रदेशसभा बैठकमा उपस्थित छन् ।

आज नै मतदान भयो र खिमविक्रम शाही आइपुगेनन् भने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध ल्याइएको अविश्वास प्रस्ताव फेल हुनेछ र सरकार जोगिनेछ । शाही नआउँदा अविश्वासको प्रस्तावका लागि आवश्यक ३१ मत पुग्दैन ।

नेपाली कांग्रेसका १५, नेकपा (माओवादी केन्द्र)का ११, जसपाका दुई गरी २८ सांसदले वैशाख २ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । जनमोर्चाले निर्णय गरेपछि यहाँ सरकार ढल्ने स्थिति देखिएको थियो ।

सांसदले बोल्ने क्रम सकिन लाग्दासम्म शाही र गुरुङ संसदमा आएका छैनन् । सम्पर्कविहिन भएकामध्ये एकजना प्रदेश सभाका सदस्य राजीव गुरुङले मनाङका जनताको दवावका कारण मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको विपक्षमा मतदान गर्न नसकेको बताएका छन् । प्रदेश सभा बैठकमा अनुपस्थित भएका मनाङेले सञ्चारकर्मीसँग फोन कुराकानीमार्फत यस्तो बताएका हुन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार