महिला विश्वकप : वेस्टइन्डिजलाई हराउँदै अस्ट्रेलिया फाइनलमा

काठमाडौं । एकदिवसीय महिला विश्वकपमा अपराजित रहेको अस्ट्रेलियाले सेमिफाइनलमा वेस्टइन्डिजलाई १ सय ५७ रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ। वर्षाका कारण ४५ ओभरमा घटाइएको खेलमा अस्ट्रेलियाले वेस्टइन्डिजविरुद्ध ३ सय ५ रनको विशाल स्कोर तयार गरेको थियो।

टस हारेर पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाका लागि एलसा हेलीले सर्वाधिक १ सय २९ रनको इनिङ खेलिन्। र्‍याचेल ह्यानेसले ८५ रन बनाउँदा मेग लनिङले २६ रन तथा बेथ मोनीले ४३ रनको अविजित इनिङ खेल्दै अस्ट्रेलियालाई उच्च योगफलमा डोर्‍याएका थिए।

जवाफमा वेस्टइन्डिज ३७ ओभरमा अलआउट हुँदै १ सय ४८ रनमा समेटियो। उसका लागि कप्तान स्टाफेन टेलरले सर्वाधिक ४८ रन बनाउँदा ह्याली म्याथ्युजले ३४ रन बनाएकी थिइन्। त्यस्तै डेन्ड्रा डोटीनले ३४ रन बनाउनुबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो रनको स्कोर बनाउन सकेनन्।

अब अस्ट्रेलियाले उपाधिका लागि इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार