परराष्ट्रमन्त्री खड्काले भेटे श्रीलंकाका राष्ट्रपति र विदेशमन्त्री

श्रीलंका भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्काले त्यहाँका राष्ट्रपति गोतबया राजापक्षे र परराष्ट्रमन्त्री जीएल पेरिससँग भेटवार्ता गरेका छन्।क्षेत्रीय संगठन आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को पाँचौँ शिखर सम्मेलनमा भाग लिने क्रममा मन्त्री खड्का कोलम्बोमा छन्।

त्यहाँस्थित राष्ट्रपति कार्यालयमा भएको भेटमा नेपाल र श्रीलंकाबीचको ऐतिहासिक सम्बन्ध र आर्थिक सहकार्य स्तरोन्नति गर्ने सम्बन्धमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

त्यसैगरी श्रीलंकाली परराष्ट्रमन्त्रीसँगको भेटमा कोरोना महामारीपछिको पुनर्स्थापना, आर्थिक साझेदारी, सांस्कृतिक सम्पर्क र क्षेत्रीय सहकार्य लगायत द्विपक्षीय हितका साझा विषयमा छलफल भएको परराष्ट्रले जनाएको छ। मन्त्री खड्काले मंगलबार श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापक्षेसँग भेटेका थिए। श्रीलंकाले बिमस्टेक शिखर सम्मेलन आयोजना गरेको हो। बिमस्टेक सदस्य मुलुकबीच बुधबार तीनवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार