मुख्यमन्त्री गुरुङविरुद्दको अविश्वासको प्रस्तावमा आजै निर्णय हुने

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा आज निर्णय हुने भएको छ । सोमबारदेखि शुरु भएको प्रदेशसभाको विशेष अधिवेशनअन्तर्गत आजको बैठकमा प्रस्ताव सम्बन्धमा छलफल भई मुख्यमन्त्री गुरुङले जवाफ दिनेछन् । मुख्यमन्त्रीले जवाफ दिएपछि सो प्रस्तावमाथि निर्णय गरिने कार्यसूची छ ।

मङ्गलबारको बैठकमा नेकपा(एमाले)का प्रदेशसभासद्ले कोरोना परीक्षण नगरी बैठक बस्न नहुने जनाई अवरोध गरेपछि बैठक स्थगन भएको थियो । परीक्षण सम्बन्धमा सहमति जुटेपछि प्रदेशसभा सदस्य एवम् कर्मचारीको पिसिआर परीक्षणपछि आजको बैठक शुरु भएको हो । बैठकमा प्रस्ताव सम्बन्धमा छलफल चलिरहेको छ ।

वैशाख २ गते गण्डकी प्रदेशसभा सचिवालयमा दर्ता भएर १३ गते सदनमा पेश भएको अविश्वासको प्रस्ताव बुधबार नै निर्णायार्थ पेश गर्ने कार्यसूची छ । आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने देखेपछि मुख्यमन्त्री गुरुङले वैशाख १ गते संसदको हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेका थिए ।

सरकारले प्रदेश सभाको अधिवेशन अन्त्य गरिदिएपछि विपक्षी दलले प्रदेश सभाको विशेष अधिवेशन बोलाउन प्रदेश प्रमुख अमिक शेरचनलाई निवेदन दिएका थिए। सोही निवेदनका आधारमा सोमबारदेखि विशेष अधिवेशन सुरू भएको हो । गण्डकी प्रदेश सभामा सत्तारूढ एमालेका २७ जना सांसद छन्। एमालेलाई स्वतन्त्र सांसद दीपक मनाङेको पनि समर्थन छ।

नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टीका २ जना सांसद छन् । मुख्यमन्त्री गुरूङविरूद्ध एमाले बाहेकका अन्य चार दल उभिएकाले उनीहरूकै पक्षमा बहुमत पुग्ने देखिन्छ । ६० सदस्यीय प्रदेश सभामा विपक्षी गठबन्धनको ३१ मत पुग्छ । बुधबार हुने मतदानमा खासगरि नेकपा माओवादी केन्द्रका बादल निकटका सांसदले फलो्र क्रस नगरेको अवस्थामा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली मुख्यमन्त्री निर्वाचित हुनेछन् ।

यद्यपी मुख्यमन्त्री गुरुङले पनि आफुविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि विपक्षी दलका विभिन्न सांसदहरुसँगको भेटघाट र छलफललाई तीब्र पारेकाले लुम्बिनी प्रदेशको अवस्था गण्डकीमा पनि नदोहोरिएला भन्न सकिदैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार