नेपालमा केही ठूला उद्योगमा १२ घण्टासम्म लाइन काट्न थालियो

नेपालले भारतबाट बिजुली खरिद गर्न नपाउँदा केही उद्योगहरूमा दैनिक १० देखि १२ घण्टासम्म लोडसेडिङ हुन थालेको अधिकारीहरूले बताएका छन्।नेपाल विद्युत् प्राधिकरणले पछिल्लो अवस्थालाई छोटो समयको अर्थ्याए पनि सर्वसाधारणमा भने लोडसेडिङको चिन्ता व्याप्त छ।प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार सुख्खा याममा भारतबाट नेपालमा दैनिक झन्डै १२,००० मेगावाट आवर विद्युत् आपूर्ति हुन्थ्यो।

तर हाल भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा बिक्रेताको अभाव देखिएको र सबैको माग एकै समयमा पर्ने हुँदा बाँडफाँड गरिने गरेकाले नेपालमा आवश्यकता अनुसार विद्युत् आपूर्ति गर्न नसकिएको उनी बताउँछन्।

तर सर्वसाधारणको घरमा लोडसेडिङ हुने अवस्था नआउने भट्टराईको दाबी छ।भारतबाट विद्युत् यथेष्ट मात्रामा नआएपछि ३३ केभीएदेखि १३२ केभीएसम्मका प्रसारणलाईनमार्फत विद्युत् खपत गर्ने केही ठूला उद्योगहरूमा हरेक दिन बेलुका ६ बजेदेखि १२ घण्टाका लागि लोडसेडिङ हुन थालेको छ।

त्यस्तै ११ केभीएका केही औद्योगिक फीडरमा पनि विद्युत् कटौती गरिएको अधिकारीहरू बताउँछन्।बुधवार प्रदेश नं १ को नेपाल उद्योग परिसङ्घ, मोरङ व्यापार सङ्घ र उद्योग सङ्गठन मोरङले औद्योगिक क्षेत्रहरूमा गत हप्तादेखि १४ घण्टासम्म अघोषित लोडसेडिङ गरिएकोमा जबाफदेहिता माग गरेको छ।उनीहरूले ‘ऊर्जा सङ्कटलाई अविलम्ब समाधान गरी उद्योगहरूमा निरन्तर विद्युत् आपूर्तिको व्यवस्थाका लागि अनुरोध गरेका छन्।

गत नोभेम्बरदेखि उक्त प्रतिस्पर्धी बजारमा जोडिएको नेपालले दैनिक ४५० मेगावाटसम्म बिजुली किन्ने गरेको छ।नेपालको लागि प्राधिकरण मात्र बिजुली खरिद–विक्री गर्ने एक मात्र निकाय हो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार