देशका विभिन्न स्थान भएको दुर्घटनामा ८ जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ। काठमाडौंमा दुई, कास्की, बागलुङ, तनहुँ, मकवानपुर, काभ्रेपलाञ्चोक र बारामा भएका सवारी दुर्घटनामा ८ जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

यस्तै काठमाडौंको गोकर्णेश्वर नगरपालिका सुन्दरीजलमा टिपरले ठक्कर दिँदा दुई दिदीबहिनीको मृत्यु भएको छ। आज बिहान बुवा रोहन तामाङसँग मोटरसाइकलमा विद्यालय जाँदै गरेका ८ वर्षीया सृष्टि तामाङ र ४ वर्षीया श्रेया तामाङको टिपरको ठक्करबाट मृत्यु भएको हो। उनीहरूको घटनास्थलमै मृत्यु प्रहरीले जनाएको छ।

बा ४ ख ६९६५ नम्बरको बालुवा बोकेको टिपरले बा ८ प ८७३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। दुर्घटनामा गम्भीर घाइते भएका बुवा रोहनलाई उपचारका लागि अत्तरखेलस्थित नेपाल मेडिकल कलेज लगिएको छ।

यस्तै कास्कीको पोखरा महानगरपालिका ८ स्थित सभागृह चोकमा आज बिहान ट्रकको ठक्करबाट स्कुटरमा सवार १ जनाको मृत्यु भएको छ, भने २ जना घाइते भएका छन्। मृत्यु हुनेमा स्कुटर चालक पोखरा महानगरपालिका १८ कि १८ वर्षीया अन्जना पाइजा रहेकी छिन्। गम्भीर घाइते भएकी अन्जनाको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो।

घाइते भएका स्कुटरमा सवार पोखरा १० कि १८ वर्षीया मिना गुरुङ र पोखरा १८ कि कमला पाइजाको सोही अस्पतालमा उपचार भइरहेको छ। घाइते दुबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। ना ६ ख ४७२५ नम्बरको ट्रकले ग १४ प ६५९८ नम्बरको स्कुटरलाई आज बिहान ६ बजे ठक्कर दिएको हो। दुर्घटनामा संलग्न ट्रक सहित चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।

बाग्लुङको निसीखोला गाउँपालिका २ खाडुमा हिजो बेलुकी जीप दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने, १ जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा जीप चालक बाग्लुङकै ढोरपाटन नगरपालिका १ का ४७ वर्षीय ऋतुवर्ण पौडेल रहेका छन्। घाइते भएका जीपमा सवार रुपन्देही तिलोत्तमा नगरपलिका ७ का ३८ वर्षीय सुरेश थापाको पाल्पा स्थित प्रभास अस्पतालमा उपचार भईरहेको छ। हिजो बेलुकी ७ बजे निसीबाट बुर्तिबाङतर्फ आँउदै गरेको लु १ च ९४८० नम्बरको जिप अनियन्त्रित भएर सडकबाट १५० मिटर तल खसेको ईलाका प्रहरी कार्यालय बुर्तिबाङ बाग्लुङले जानकारी दिएको छ।

त्यस्तै तनहुँको शुक्लागण्डकी नगरपालिका १० मीनाम खानीमा हिजो साँझ बोलेरो जिप पल्टिदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा जीपमा सवार तनहुँकै बन्दिपुर गाउँपालिका ४ का २५ वर्षीय सुरेश घर्ती रहेका छन्। हिजो साँझ पौने ७ बजे ग २ च ८२०१ नम्बरको जिप मलको खाल्डोमा पल्टिएको थियो। जिप सहित चालक ईलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँको नियन्त्रणमा रहेका छन्।

त्यसै गरी काभ्रेपलान्चोकको पनौती नगरपालिका २ नयाँगाउँमा हिजो बेलुकी ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानिय अन्दाजी २५ बर्षीय युवराज दाहाल रहेका छन्। गम्भीर घाइते भएका उनको उपचारको क्रममा बनेपा स्थित शिर मेमोरियल अस्पतालमा बेलुकी ८ बजे, मृत्यु भएको हो। नयाँगाँउ स्थित रोशी खोला ढुङ्गा खानीबाट ढुङ्गा लोड गरि फर्कने क्रममा, दाहालले चलाएको बा ५ ख ९६५१ नम्बरको ट्रिपर हिजो बेलुकी पौने ८ बजे सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो।

त्यस्तै मकवानपुरको हेटौँडा उपमहानगरपालिका ६ पुतलीसडकमा गएराती गुडिरहेको ट्याक्टरबाट खसेर १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्याक्टरमा सवार हेटौडा उपमहानगरपालिका ८ का २३ वर्षीय राजेश मोक्तान रहेका छन्। घाइते उनको उपचारको क्रममा भरतपुर स्थित कलेज अफ मेडिकल साईन्स अस्पतालमा गएराति सवा १२ बजे मृत्यु भएको हो।

गएराती साढे ९ बजे नागसोतीबाट कमाने तर्फ जाँदै गरेको ना ४ त ६९१० नम्बरको ट्रयाक्टरबाट मोक्तान खसेका थिए। ट्याक्टर सहित चालक जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा रहेका छन्।

बाराको जितपुर सिमरा उपमहानगरपालिका २२ मा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्साको विरगंज महानगरपालिका २३ का २२ वर्षीय राजन कुमार पटेल रहेका छन्। गम्भीर घाइते भएका पटेललाई उपचारको लागी अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो। पटेलले चलाएको ना ६४ प ९१६७ नम्बरको मोटरसाइकल गएराति सवा १२ बजे अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार