भारत भ्रमणका बेला प्रधानमन्त्रीले उठाउनुपर्ने कुराहरू के हुन् ?

यसै साता सुरु हुने प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा ‘एकअर्काबीच कुनै शङ्का रहे त्यसलाई निर्मूल पारेर विश्वास निर्माण गर्नमा जोड दिइनुपर्ने’ मा विज्ञहरूले जोड दिएका छन्।

राजनीतिक रूपमै समझदारी बढेपछि मात्रै अन्य कुराहरूले स्थान पाउने हुँदा पनि भ्रमण आशङ्का हटाउन केन्द्रित रहनुपर्ने भारतका लागि नेपालका एक पूर्वराजदूतको भनाइ छ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा देउवा शुक्रवार भारतको राजधानी दिल्ली जान लागेको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

विज्ञप्तिका अनुसार देउवा र उनका भारतीय समकक्षीबीच शनिवार द्विपक्षीय औपचारिक वार्ता हुने तय भएको छ।पाँचौँ पटक प्रधानमन्त्री नियुक्त भएपछि देउवाको यो पहिलो भारत भ्रमण हो। मोदीबाहेक देउवाले भारतका उपराष्ट्रपतिसँग पनि भेट गर्नेछन्।आइतवार बनारस हुँदै नेपाल फर्कनुअघि देउवासँग भारतका विदेशमन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारले पनि भेट गर्ने बताइएको छ।

आशङ्का हटाउने अवसर

भारतका लागि नेपालका पूर्वराजदूत नीलाम्बर आचार्य भ्रमणका क्रममा नेपालले आफ्ना बाह्य सम्बन्धप्रति भारतले कुनै आशङ्का गर्नुपर्ने आवश्यकता छैन भनेर आश्वस्त पार्न सक्नुपर्ने बताउँछन्।नेपालले भारतका ‘आशङ्का तथ्यगत नभएको’ कुरा प्रष्ट पार्न सक्नुपर्ने उनको भनाइ छ।
‘नेपालले विकासको निम्ति अन्य देशहरूसँग सम्बन्ध राख्दा, नेपालको विकास हुँदा त्यसबाट भारतलाई नै फाइदा हुन्छ,आचार्यले भने।

भाषा, भूगोल लगायतका कारण भारतसँग नेपालको सहज पहुँच रहेको अवस्थामा भारतले नेपाल(भारत सम्बन्धमा अन्य सम्बन्धहरूले नकारात्मक असर पार्छ भनेर सोच्ने वस्तुगत आधार नै नरहेको उनको बुझाइ छ।दक्षिण एशियाका अन्य तीन राष्ट्र हुँदै गत साता नेपाल आएका चीनका स्टेट काउन्सेलर तथा विदेशमन्त्री वाङ यी आइतवार बेङजिङ फर्किए लगत्तै देउवा भारत जान लागेका हुन्।

भारतका लागि नेपालका अर्का पूर्व राजदूत लोकराज बराल भारतलाई नेपालमा चीनको गतिविधि अनि चीनलाई तिब्बतका कारण नेपालमा बाह्य शक्तिहरूको गतिविधि प्रति चासो रहने गरेको बताउँछन्।राजनीतिक परिवर्तनपश्चात् छिमेकी राष्ट्रहरूसँग सम्बन्ध सुधारका विषयवस्तुहरूले प्राथमिकता पाउने र गत हप्ता चिनियाँ विदेमन्त्रीको भ्रमण र देउवाको भारत भ्रमण दुबैलाई त्यही सिलसिलाको निरन्तरताका रूपमा हेरिनुपर्ने पूर्व परराष्ट्रमन्त्री समेत रहेका भारतका लागि नेपालका पूर्व राजदूत भेषबहादुर थापाको भनाइ छ।

सीमा सम्बन्धी विवादबारे चर्चा
केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले जारी गरेको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सामा भारतले अतिक्रमित गरेको भनिएको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र समेटिएको थियो।

त्यसयता नेपालको र भारतको सम्बन्ध चिसिएको धारणा विज्ञहरूले राख्दै आएका छन्। र हालसम्म पनि उक्त विषय नेपाल भारत सम्बन्धमा बिझाउने कुरा बनेर बसेका कारण पनि यो भ्रमणमा सीमा सम्बन्धी विषयलाई सम्बोधन गरिनुपर्ने आचार्यको मत छ।

बिझाउने कुराहरू राखिराख्दा त्यसले राम्रो गर्दैन,’ उनले भने।

थापा पनि दुई देशकोबीचमा सहमति गरेर समस्या निराकरण गरिनुपर्ने ठान्छन्।

‘दुवै थरीले एक प्रकारले मौनता धारण गरेर बसेका छन्। समस्यालाई थाती राखेर अन्य कुराहरूमा संवाद गर्ने सम्भावना देखिन्छ,’थापाले भने।

तर कूटनीतिमा सबै कुरा आधिकारिक रूपमा नगरिने हुँदा देउवाको भ्रमणका क्रममा यो विषय उठान हुने आफूलाई नलागेको बरालको बुझाइ छ।

ईपीजी प्रतिवेदनबारे चासो
नेपाल र भारतबीच लामो समय देखि थाती रहेका मुद्दाहरू पनि प्रधानमन्त्री देउवाको भ्रमणका क्रममा उठान गरिनुपर्ने विज्ञहरूको मत छ।प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को प्रतिवेदनको भविष्य लगायतका विषयहरूमा नेपालले प्रष्टता खोज्न आवश्यक रहेको उनीहरू बताउँछन्। द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउन अनि सन्धिसम्झौता लगायतका विषयमा सिफारिस गर्न गठन गरिएको ईपीजीले दुई वर्ष लगाएर प्रतिवेदन तयार गरेको थियो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार