प्रचण्ड पत्नी सीता अस्पताल भर्ना

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन्।

शरीरमा सोडियमको मात्रा कम देखिएपछि मंगलबार साँझ दाहाललाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । यद्यपि अस्पतालबाट कहिले डिस्चार्ज गर्ने भन्ने एकिन छैन ।

चिकित्सकका अनुसार सीतालाई पिएसपी नामक रोग लागेको छ । अमेरिकाको नेसनल इन्स्टिच्यूट अफ न्यूरोलोजिकल डिसअर्डर एण्ड स्ट्रोक (एनआइएनडीएस) का अनुसार, पिएसपी एक प्रकारको असामान्य मस्तिष्क विकार हो, जसले शरीरको गति, हिँडाइको सन्तुलन, बोल्ने, निल्ने, हेर्ने प्रक्रियाका साथै मनोदशा र सोचसमेत प्रभावित बनाउँछ ।

मष्तिष्कका स्नायु कोष (नर्भ सेल) क्षय हुने यो रोगले बिरामीलाई मानसिक र शारीरिक रूपमा कमजोर बनाउँदै लैजान्छ ।

एनआइएनडीएसका अनुसार यो रोग हरेक एक लाखमा तीनदेखि ६ जनासम्मलाई हुन्छ । सामान्यतः पिएसपीको लक्षण ६० वर्ष पुगिसकेकाहरूमा देखिने गरेको छ । तर, कसै कसैलाई यो रोगले चाँडै समात्न सक्छ । पिएसपीबाट महिलाभन्दा पुरुष धेरै प्रभावित रहेको चिकित्सकहरु बताउँछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार