सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बञ्चरेडाडाँ ल्याण्डफिल साइट पुग्ने वैकल्पिक सडक बनाइने बताएकी छिन् । उनले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा पटक–पटक समस्या सृजना भएकाले वैकल्पिक सडक निर्माणको काम अघि बढाइने बताएकी हुन् ।
हाल फोहोर व्यवस्थापन गरिँदै आएको सिसडोल क्षेत्र पुग्ने सडकलाई तत्काल स्तरोन्नती गरिने बताउँदै मन्त्री झाँक्रीले बञ्चरेडाडाँ पुग्ने वैकल्पिक सडकको काम पनि तत्काल सुरु गरिने उनले बताइन् ।मन्त्रालयमा मन्त्री झाँक्रीको अध्यक्षतामा बसेको बञ्चरेडाडाँ ल्याण्डफिल साइट सञ्चालनमा देखिएका समस्या समाधान गर्न गठित उच्चस्तरीय समितिको बैठकमा उनले उपत्यकाको फोहोर व्यवस्थापनको समस्यामा सधैं अल्झिरहन नहुने बताइन् ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले फोहोर व्यवस्थापन सिंगो उपत्यकाको समस्या रहेको बताउँदै यस विषयमा सबै पक्ष गम्भीर बन्नुपर्ने बताए । सहरी विकास मन्त्रालयले बञ्चरेडाडाँ ल्याण्डफिल सञ्चालनमा प्राविधिक सहयोग गर्नुपर्ने माग गर्दै उनले उपत्यकाको फोहोर व्यवस्थापनको विषयमा संघीय सरकार पनि गम्भीर बन्नुपर्नेमा जोड दिए ।
धादिङको धुनीबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले स्थानीयसँग समन्वय गरेर सरकार अघि बढ्नुपर्ने बताउँदै आयोजना प्रभावित क्षेत्रमा स्वास्थ्य शिक्षा सडक लगायतमा सहुलियत हुनुपर्ने माग गरे ।