अर्थविद्हरूले बजेट निर्माणमा बढी महत्त्वाकाङ्क्षी नबन्न तथा नागरिकले तिरेको करको दुरुपयोग नगर्न सरकारलाई सचेत गराएका छन् ।
मंगलबार काठमाडौँमा नेपाल आर्थिक संघ र बैंक तथा वित्तीय संस्था परिसंघले आयोजना गरेको देशको वर्तमान अवस्था र आगामी बजेट विषयक आर्थिक बहसमा बोल्दै उनीहरूले गरिब नागरिकले तिरको कर सामाजिक सुरक्षाका नाममा बाँडेर राजनीतिक दलले भोट किनेको पनि आरोप लगाए ।
कार्यक्रममा अर्थविद् डा. पोषराज पाण्डेले नेपालमा सामाजिक सुरक्षा भत्तालाई भोट माग्ने भाँडो बनाउने काम भएको भन्दै दक्षिण एसियाका मुलुकहरूमा नेपालमा जस्तो सामाजिक सुरक्षा भत्तामा खर्च कुनै पनि देशले नगरेको बताए । उनले सरकारले बजेटको १२ प्रतिशत बजेट सामाजिक सुरक्षा भत्ताका विभिन्न कार्यक्रम अन्तर्गत बाँड्ने गरेको स्मरण गराउँदै सामाजिक सुरक्षाका नाममा हुने खर्च दीर्घकालमा धान्न गाह्रो हुने बताए ।
गरिबबाट उठाएको पैसा धनीहरूलाई कहिलेसम्म बाँडिराख्ने भन्दै उनले प्रश्न गरे । पाण्डेले सरकारले यसरी भोट किन्नको लागि सामाजिक सुरक्षामा पैसा बाँड्ने हो भने मुलुक माथि जान नसक्ने दाबी पनि गरे । आर्थिक वृद्धिदर बढे पनि समावेशी विकास नभएको भन्दै उनले आगामी आवको बजेटमा यसमा पनि ध्यान दिन आग्रह गरे । यो समाचार आजको कारोबार दैनिकमा छ ।