काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक संसदीय समिति गठन नगरी सकिएको छ । चार दिन चलेको बैठकले संसदीय समिति गठन गर्ने भनिए पनि समिति गठन नगरि बैठक आज सकिएको हो । विधानमा भएबमोजिम गठन गर्ने भनेर तत्काललाई टुंग्याइएको एक नेतालाई बताए ।
सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा भारतबाट फर्केपछि संसदीय समिति र अनुशासन समिति बनाउने निर्णय भएको छ ।बैठकको मुख्य एजेण्डाका रूपमा संसदीय समिति गठन रहेपनि आसन्न निर्वाचनमा चुनावी तालमेल गर्ने वा नगर्ने भन्ने विषयले बैठकमा बढी प्राथमिकता पायो ।
यस्तै कांग्रेसले स्थानीय आवश्यकता अनुसार चुनावी तालमेल गर्ने निर्णय गरेको छ । सानेपास्थित कार्यालयमा चार दिनदेखि जारी केन्द्रीय समितिको बैठकले अन्तत चुनावी तालमेलको पक्षमा निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
‘स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा नेपाली कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई अझै सघन र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकताअनुरुप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने नीतिगत निर्णय यो बैठक गर्दछ,’ प्रवक्ता महतले भने, ‘स्थानीय तहको उम्मेदवार चयन गर्न पार्टीको विधानमा उल्लेखित प्रावधान र प्रक्रियाअनुरुप अगाडि बढाइने छ ।’
बैठकले उपसभापति पूर्णबहादुर खड्कको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ । त्यस्तै डा। प्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन प्रचार प्रसार समिति गठन गरिएको छ ।