जयनगर–जनकपुर रेलको उद्घाटन भारत र नेपालका प्रधानमन्त्रीले संयूक्त रुपमा गर्ने भएका छन् । आगामी शनिबार उद्घाटन गर्ने तालिका रहेको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा शुक्रबार नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाँदैछन् । भ्रमण कार्यक्रममा रेल उद्घाटनको विषय पनि रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
मन्त्रालय स्रोतका अनुसार दुबै देशका प्रधानमन्त्रीले रेलको भर्चुअल्ली उद्घाटन गर्ने छन् । १७ महिनादेखि थन्किएर बसेको रेलको अहिलेसम्म आधिकारिक रुपमा उद्घाटन हुन सकेको छैन । अहिले ‘ड्राइ रन’का रुपमा रेल चलाइएको छ । उद्घाटन भएपछि रेल जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर दूरीमा यात्रु बोकेर चल्ने छ ।
नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाका अनुसार रेल सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ । रेल सञ्चालनकै लागि गत चैत ८ गते राष्ट्रपति कार्यालयबाट रेलवे अध्यादेश जारी भइसकेको छ ।