पल-गायिका प्रकरण : थुनामा राख्‍ने आदेशविरुद्ध शाहले गरे उच्च अदालतमा रिट दायर

नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाह जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध पुनरावेदनका लागि आज उच्च अदालत पोखरामा रिट दायर गरेका छन् । पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश चित्त बुझ्दो नभएकालेआज उच्च अदालत पोखरामा शाहले पुनरावेदन दिएका हुन् ।

पललाई तारेख वा धरौटीमा छाडेर मुद्दा पुर्पक्ष गरियोस् भनेर माग राखेपनि अदालतले थुनामा पठाएकाले पुनरावेदन दिएको पलका पक्षका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले जानकारी दिए । जिल्ला अदालत तनहुँको थुनछेक आदेश त्रुटिपूर्ण रहेको दाबी गर्दै शाहले निवेदन दर्ता गराएका हुन् ।

जाहेरवाला र प्रतिवादीको तर्फबाट थुनछेक बहस भएपछि १० चैतमा जिल्ला अदालत तनहुँले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश जारी गरेको हो । जिल्ला न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजालसमा पलका म्यानेजर कृष्णप्रसाद जोशिलाई भने एक लाख रुपैयाँ धरौटीमा तारेखामा छाडिएको छ । ७ चैतमा अनुसन्धान सकेर जिल्ला प्रहरी कार्यालय तनहुँले सरकारी वकिलको कार्यालय तनहुँमा प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनको आधारमा ८ चैतमा सरकारीको वकिलको कार्यालयले जिल्ला अदालत तनहुँमा मुद्दा दायर गरेको थियो ।

गायिकालाई सुटिङको क्रममा चिनजान भएपछि विवाह गर्ने भन्दै प्रेममको झुठो नाटक देखाएर पटक पटक करणी गर्दै आएको भन्दै ११ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो ।

अन्तिम पटक १४ वैशाख २०७८ मा शुक्लागण्डकी नगरपालिका(४ दुलेगौँडास्थित प्रदिप थापाको घरमा राति १२ बजेतिर ती बालिकाको कोठामा प्रवेश गरेर शाहले ललाइफकाइ जबरजस्ती करणी गरेको उनका अभिभावकले दिएको उजुरीमा उल्लेख छ । १५ फागुनमा तनहुँ प्रहरी समक्ष आएर पलले आत्मा सर्मपण गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार