इटालीको जस्तो हालत हाम्रो हुँदैन : रोनाल्डो

काठमाडौं । पोर्चुगल विश्वकपमा छनोट भयो भने क्रिष्टियानो रोनाल्डाको लागि यो प्रतियोगिता सम्भवतः अन्तिम हुनेछ । र करियरको पाचौं विश्वकप पनि । तर पोर्चुगल अहिले छनोट प्रतियोगिताको प्लेअफबाट गुज्रिएको छ । र चार पटकको विश्व विजेता इटालीजस्तै पोर्चुगलको हालत हुने हो कि भन्ने चर्चा पनि छ । किनकि पोर्चुगलले इटालीलाई नै हराएको टिम नर्थ म्यासेडोनियाविरुद्ध आज राति खेल्दैछ । कप्तान रोनाल्डो भने इटालीको जस्तो पोर्चुगलको हालत नहुने विश्वास व्यक्त गर्छन् ।

‘‘हामी आश्चर्यचकित भयौं,’’ रोनाल्डोले सोमबार स्पोर्ट्स टीभीसँग भनेका छन्, ‘‘नर्थ म्यासेडोनियाले धेरै खेलमा आश्चर्यजनक नतिजा निकालेको छ । तर उनीहरुले हामीविरुद्ध आश्चर्यजनक नतिजा निकाल्न सक्दैन भन्नेमा म विश्वस्त छु । पोर्चुगलले राम्रो फुटबल खेल्नेछ र विश्वकपमा स्थान बनाउनेछ ।’’

पोर्चुगल लगातार छैटौंपटक विश्वकपमा स्थान बनाउने लक्ष्यमा छ । र रोनाल्डो लगातार करियरको दशौं ठूलो प्रतियोगिता खेल्ने योजनामा छन् । उनले २००४ पछि चार विश्वकपमा र पाँच युरोपियन च्याम्पियनसिप खेलिसकेका छन् ।

‘‘जित्यौं भने विश्वकपमा छनोट हुनेछौं भन्ने हामीलाई थाहा छ । र हार्यौं भने विश्वकपबाट बाहिरिन्छौं,’’ रोनाल्डोले भने, ‘‘हाम्रो काँधमा खेल जितेर विश्वकपमा स्थान बनाउने जिम्मेवारी छ । त्यसका लागि सबैजना तयार छन् । र अबको खेलमा सक्दो राम्रो गर्न तयार छन् ।’’

लगातार खेलेको ९ ठुला प्रतियोगितामा कम्तिमा एक गोल गर्ने रोनाल्डो एक मात्र खेलाडी हुन् । पुरुष अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डो सबभन्दा धेरै गोल गर्ने खेलाडी हुन् । कतारमा पोर्चुगल छनोट भएन भने अर्को विश्वकपमा रोनाल्डो ४१ वर्षका हुनेछन् । तर म्यानचेस्टर युनाइटेडका फरवार्ड रोनाल्डो आफु विनाको विश्वकप हुनेबारे कुरा गर्न चाहदैनन् ।

‘‘पोर्चुगलविनाको विश्वकप हुँदैन,’’ रोनाल्डोले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार