सत्तारुढ नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने कि नजाने भन्ने आधिकारिक धारणा आज सार्वजनिक गर्ने भएको छ ।
गत शुक्रबारदेखि जारी केन्द्रीय समिति बैठकमा अधिकांशले आफ्नो राय दिइसकेकाले आजको बैठकले गठबन्धनका बारेमा आधिकारिक धारणा सार्वजनिक गर्ने भएको हो ।
प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालगायत अधिकश नेताहरु गठबन्धनको पक्षमा छन् भने १४औँ महाधिवेशनमा सभापतिका प्रत्यासी शेखर कोइराला समूहले गठबन्धनबिना नै निर्वाचनमा जानुपर्ने गरी धारणा राख्दै आएका छन् । कांग्रेसले आज गर्ने निर्णयले समग्र स्थानीय तहको नतिजामा फरक पर्ने आंकलन गरिएको छ ।
नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको साथ पाएर गत प्रतिनिधि सभा निर्वाचनमा कमजोर सिट संख्याका बाबजुद पनि प्रधानमन्त्री पद पाएका कांग्रेस सभापति देउवा स्थानीय हुँदै प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धन गर्नुपर्ने पक्षमा छन् । तर उनको चाहना सहजै बैठकबाट अनुमोदन हुने सम्भावना भने न्यून देखिएको छ ।
इतरपक्षले भने खुलेरै गठबन्धनको बिरोध गरिरहेको छ । देशभर लाखौं नयाँ मतदाता थपिएको भन्दै उनीहरूलाई पहिलो पटक नै रूखमा भोट हाल्न लगाउनुपर्ने र अहिले रुखमा भोट हाल्न नलगाए भविष्यमा रुखमै भोट हाल्छन भन्ने ग्यारेन्टी नहुने उनीहरूको भनाइ छ ।