पशुपति क्षेत्रमा एनआरएनएले वृद्धाश्रम बनाउने

नवनिर्वाचित अध्यक्ष कुल आचार्यले नेपाल सरकार तथा पशुपति क्षेत्र विकास कोषसंग सहकार्य गरी एउटा वृद्धाश्रम बनाउन प्रस्ताव राखेका छन् ।

उनले राखेको कम्तीमा १०० कोठा रहेको अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न वृद्धाश्रम बनाउने प्रस्तावलाई कार्य समितिको पहिलो बैठकले पारित गरेको छ ।  आचार्यले आफ्नो तर्फबाट उक्त परियोजनाका लागि रु एक करोड प्रदान गर्ने घोषणा पनि गरेका छन् ।

उक्त वृद्धाश्रमका लागि उपाध्यक्ष महेश श्रेष्ठ, महासचिव गौरी जोशी तथा कोषाध्यक्ष सुनिल साहले २५, २५ लाख रुपियाँ  प्रदान गर्ने घोषणा गरे । त्यस्तै अर्का महासचिव डा केशव पौडेलले रु १० लाख प्रदान गर्ने घोषणा गरे । पहिलो बैठकबाटै उक्त परियोजनाका लागि ३ करोड भन्दा बढी रकमको प्रतिबद्धता व्यक्त गरिएको छ ।

अर्का नवनिर्वाचित बद्रि केसीले यो कार्यकालमा स्मार्ट एप प्रयोग गरेर ‘क्राउड फन्डिंग’ गर्ने जनाए । उनले कूल परियोजना लागतको ३३/३३ प्रतिशत रकम उठाउने जिम्मा तीनै जना अध्यक्षले लिने बताए।  उक्त बैठकले वृद्धाश्रम बनाउनका लागि सकभर पशुपति क्षेत्रमै जग्गा उपलब्ध गराउन नेपाल सरकारलाई अनुरोध गर्ने भन्ने प्रस्ताव पनि पारित गरेको छ ।

विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाएपछि रकम उठाउन शुरु गर्ने बताए । संघको केन्द्रीय सचिवालयले उक्त परियोजनाको लागि १५ देखि १७ करोडसम्म लागत लाग्न सक्ने अनुमान गरेको छ ।

यस अघि सोमबार दिउंसो निवर्तमान अध्यक्ष कुमार पन्तले नवनिर्वाचित अध्यक्षहरु कुल आचार्य, डा. बद्री केसी तथा रबिना थापालाई खादा र माला लगाइदिएर पद बहाली गराएका थिए । उनले तीनै जना अध्यक्षहरुलाई एकताबद्ध भएर आफ्नो कार्यकाल सफल बनाउन आग्रह गरे ।

आइतबार राती संघको दशौँ महाधिवेशनले सर्वसम्मतिको आधारमा नयाँ कार्यसमिति चयन गरे पछि संघका पदाधिकारीहरु सोमबार बिहान पशुपति क्षेत्र पुगेर पूजा अर्चना गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार