२ क्विन्टल ६५ किलो गाँजासहित ५ जना पक्राउ

मकवानपुर प्रहरीले ठूलो परिमाणमा अवैध गाँजासहित ५ जना पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा प्रहरीले छुट्टाछुट्टै स्थानबाट २ क्विन्टल ६५ किलो गाँजासहित उनीहरूलाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले गस्तीको क्रममा मनहरी गाउँपालिका–६ स्थित लोथर खोला हुँदै खयरघारीतर्फ शंकास्पद रुपमा पिठ्युँमा भारी बोकी आइरहेको अवस्थामा ४ जनालाई पक्राउ गरेको जनाएको छ। प्रहरीले धादिङ रोराङ्ग–२ का ३० वर्षीय मानबहादुर चेपाङ, ३९ वर्षीय सन्तबहादुर चेपाङ, मनहरी–३ का ५३ वर्षीय बुद्धीबहादुर थिङ र चितवन राप्ती–११ बस्ने वर्ष ५५ को सञ्चबहादुर थिङलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट प्रहरीले १ सय केजी गाँजा फेला पारेको छ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी चौकीटोलबाट खटिएको प्रहरी टोलीले भैंसेबाट हेटौंडातर्फ आउँदै गरेको प्र ३–०१–०२३ च ५६४० नम्बरको योद्धा पिकअप गाडीको जाँच गर्दा १ सय ६५ केजी गाँजा फेला पारेको छ। गाँजासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेटौंडा–१३ पदमपोखरीका २८ वर्षीय अरबिन्द नेपाली रहेका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार