राजसंस्था पुनःस्थापनाको सम्भावना समाप्त भयो : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल राप्रपाका अध्यक्ष कमल थापाले राजसंस्था पुनःस्थापनाको सम्भावना नेपालबाट समाप्त भएको जिकिर गरेका छन् ।राप्रपा नेपालले सोमबार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले पछिलो १५ वर्षको राजनीतिक परिवर्तन र पूर्वराजाको दलप्रतिको आक्रामक सोचले राजसंस्था पुनःस्थापनको सम्भावनालाई समाप्त पारेको बताए ।

साथै उनले नेपालका ९४ प्रतिशत जनता हिन्दू रहेको र हिन्दू राष्ट्रकै एजेण्डाले राप्रपा नेपाललाई मुलुकको शक्तिशाली राजनीतिक शक्तिका रुपमा स्थापित गर्ने जिकिर गरे। भारतमा भारतीय जनता पार्टीले हिन्दू धर्मकै एजेण्डा बोकेका कारण अहिले सबैभन्दा ठूलो शक्ति बनेर शासन सत्ता चलाइरहेको उदाहरण दिए । उनले भने, ‘नेपालमा पनि अब राप्रपा नेपालले हिन्दू राष्ट्रको एजेण्डा लिएर शक्तिशाली शक्ति बन्ने छ।’

२०७० सालको निर्वाचनमा तेस्रो शक्तिका रुपमा राप्रपा नेपाल स्थापित भए पनि पार्टीलाई अझ ठूलो बनाउने महत्वकांक्षा राखेर गलत प्रवृतिसँग गलत सम्झौता गरेका कारण २०७४ को निर्वाचनमा पार्टीले ठूलो पराजय व्यवहोरेको उनले स्वीकारे।

‘त्यसबेला हामीले गलत प्रवृतिसँग सम्झौता गर्‍यौं। राजनीतिक बाटो विरायौं। त्यसैले ७४ को निर्वाचनमा पराजय भोग्यौं। त्यस बेलाको गल्ती म सहर्ष स्वीकार्छु,’ उनले भने।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार