आफ्नै तागतमा निर्वाचन लड्छौं, अनि जित्छौँ पनि : अध्यक्ष दाहाल

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आउँदो स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले आफ्नै बलमा चुनाव लड्ने बताएका छन् । पार्टीका प्रवक्ता कृष्णबहादुर महराका घरमा सोमबार आयोजित पत्रकार भेटघाटमा दाहालले महाधिवेशन र प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सकेकाले निर्वाचनमा आफ्नो जित हासिल हुनेमा विश्वास भएको दाबी समेत गरे।

७ वर्षपछि रोल्पा आएका दाहालले निर्वाचनका बेला अन्य दलसँगको सहकार्य र तालमेललाई अस्वीकार पनि नगरिने बताए।
‘आफ्नै तागतमा स्थानीय निर्वाचन लड्छौं । आफ्नै खुट्टामा टेकेर स्थानीय निर्वाचनको नतिजा आफ्नो पक्षमा ल्याउन प्रयत्न गर्छौं ।’ आफ्नै नेतृत्वमा २०५२ फागुन १ मा माओवादी सशस्त्र द्वन्द्वको सुरुआत गरेको जिल्ला रोल्पामा आयोजित जनसभालाई सम्बोधन गर्न आएका दाहालले निर्वाचनमा गठबन्धन र तालमेल गर्न सकिने निर्णय पनि गरिएको बताए ।
‘गठबन्धनमा भर परेर निर्वाचन लड्ने हैन, आफ्नै शक्तिमा निर्वाचन लड्ने हो । किनभने अहिलेको गठबन्धन विशेष राजनीतिक परिस्थितिमा बनेको हो,’ उनले भने ।

तत्कालीन केपी ओली सरकारप्रति लक्षित गर्दै दाहालले भने,‘संविधान र जनयुद्ध तथा जन आन्दोलनले स्थापना गरेका मान्यता उल्ट्याउने देखेपछि गठबन्धन निर्माण गरिएको हो ।’ उक्त गठबन्धनको अझै खाँचो भएको उनको दाबी छ । केही दिनअघि राजनीतिक कार्यक्रममा भाग लिन गृह जिल्ला आएका पार्टी प्रवक्ता महरालाई दाहालले घरमै पुगेर भेटेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार