निर्वाचन आयोग र सरकारका गतिविधिप्रति एमालेको आपत्ति

सरकारले निर्वाचन प्रभावित पार्ने निर्णय गरिरहेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले आपत्ति जनाएको छ । साथै मतपत्रमा निर्वाचन चिन्हको रंग हरियो बनाउने र मनोनयन दर्ताका लागि दुई दिन दिने निर्णय सच्याउन पनि माग गरेको छ ।

आइतबार बसेको एमाले स्थायी कमिटी बैठकले सरकारमाथि कर्मचारी र प्रहरी प्रशासनमा अन्धाधुन्ध सरुवा बढुवा गरेको तथा मतदाता प्रभावित गर्ने उद्देश्यले कानुन र नियमावलीसमेत परिर्वतन गरेको आरोप लगाएको छ ।

यस्तै बैठकले केन्द्रीय कमिटीका तीन वटा निर्णय अनुमोदन गर्दै स्थानीय चुनावको प्रतिबद्धता पत्र तयारीका लागि चैत १६ गते हाइब्रिड भर्चुअल बैठक राख्ने निर्णय गरेको गुरुङले बताए । त्यसका लागि केन्द्रमा रहेका नेताहरू भौतिक रूपमा सहभागी हुनेछन् भने जिल्ला पालिका र प्रदेशका प्रतिनिधिहरू भर्चुअल माध्यमबाट सहभागी हुनेछन् ।

सो भर्चुअल बैठकमा प्रदेश र जिल्लाले तोकेका पालिका इन्चार्जहरू, स्थानीय तहमा एमालेले जितेका प्रमुख र उपप्रमुखहरू,मस्यौदा समितिका विज्ञहरू लगायतका नेता सहभागी हुनेछन् ।

त्यस दिन पहिलो मस्यौदा तयार पारेर वैशाख ९ गते अन्तिम प्रतिबद्धता पत्र सबै पालिकाबाट एकसाथ सार्वजनिक गर्ने एमालेको तयारी छ । केन्द्रीय घोषणापत्रको मस्यौदामा स्थायी कमिटी सदस्यहरुले चैत २० गतेसम्म लिखित सुझाव दिनुपर्ने निर्णय समेत बैठकले गरेको छ । एमालेले महाकाली नदीमा भारतले एकतर्फी निर्माण गरिरहँदा सरकार मौन बसेका भन्दै आपत्ति जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार