विद्यालय जान पाउनु पर्ने माग गर्दै किशोरीहरुको प्रदर्शन

अफगानिस्तानमा छात्राले विद्यालयमा पढ्न पाउनुपर्ने माग गर्दै शनिबार प्रदर्शन गरेका छन्। अफगानिस्तानको राजधानी काबुलमा छात्राले ‘विद्यालय खोल’ भन्ने माग गर्दै शनिबार गरेका हुन्।

विद्यालयमा पढ्न र पढाउन पाउनु आफूहरूको आधारभूत अधिकार भएकाले विद्यालय जान पाउने व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ।

अगस्ट २०२१ मा तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि देशभरका विद्यालयहरू बन्द गरेको थियो।

अफगानिस्तानमा तत्कालीन तालिबान विद्रोहीले सत्ता कब्जा गरेपछि महिलाहरूलाई अध्ययन अध्यापन तथा रोजगारीलगायतका कार्यमा सहभागी हुन नपाउने घोषणा गरेको थियो। सरकारको उक्त घोषणाको विश्वभर आलोचना भएको थियो। महिलालाई अध्ययन अध्यापन र रोजगारीमा वञ्चित गर्ने निर्णय सच्याउन दबाव परेको थियो।

तालिवानी उच्च अधिकारीले भने त्यति वेलादेखि नै केही समयका लागि मात्रै यस्तो व्यवस्था गरिएको र चाँडै बालिकालाई पनि पढ्न दिइने प्रतिबद्धता जनाउँदै आएका थिए। प्रतिबद्धताअनुसार तालिबान सरकारले गत हप्तादेखि छात्रालाई विद्यालय जान दिने निर्णय गरेको थियो।

बुधबार अफगानिस्तानका हजारौं बालिका फेरि पढ्ने आशा लिएर विद्यालय पुगे। शिक्षा मन्त्रालयले यसै दिनदेखि कक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो। त्यसको केही घन्टापछि तालिबानले केटीका लागि पोशाकको निर्णय नभएकाले विद्यालय नखोल्ने घोषणा गर्‍यो। तालिबान सरकारको यो निर्णयबाट धेरै केटीहरू विद्यालय परिसरमै रोएका थिए।

शनिबार काबुलको सिटी स्क्वायर पुगेका केटीहरूले तालिबानको निर्णयको विरोध गर्दै ‘स्कुल खोल, न्याय गरु भन्ने नारा लगाएका थिए। यी युवतीले हातमा प्लाकार्ड लिएका थिए जसमा लेखिएको थियो– ‘शिक्षा हाम्रो मौलिक अधिकार हो, यो कुनै राजनीतिक योजना होइन।’ यी प्रदर्शनकारी केटीले छोटो दूरीको जुलुस निकाले तर तालिबान लडाकुहरू प्रदर्शनस्थलमा पुगेपछि फर्कन बाध्य भएका थिए।

अहिले विद्यालयमा छात्रालाई जान दिने निर्णय कार्यान्वयन नगरेपछि पुनः विश्वभर चिन्ता र चासो व्यक्त भएको छ। विद्यालय जान पाउनु आफूहरूको आधारभूत मानवअधिकार भएकाले यसलाई राजनीतिक रूपमा लिन नहुने प्रदर्शनकारीहरूको भनाइ छ।

हामीलाई विद्यालय जान दे, हामीलाई न्याय दे जस्ता माग राख्दै प्रदर्शनकारीले काबुलमा परेको प्रदर्शनलाई निकै महत्त्व दिइएको छ। उनीहरूको आन्दोलनप्रति अधिकारवादी संघ संस्था तथा निकायहरूले पनि ऐक्यबद्धता जनाएका छन्।

तालिबान शासन र इस्लामिक धर्मको केन्द्रले बालिकाका लागि विद्यालय किन नखोलेको भनेर कुनै जवाफ दिएनन्। अफगानिस्तानमा माध्यमिक विद्यालयका केटीहरू विगत ७ महिनादेखि विद्यालय गएका छैनन्।

शिक्षा सबैको अधिकार भएको उल्लेख गर्दै तालिबानले यो अधिकार खोसेको प्रदर्शनमा सहभागी एक बालिकाले बताइन्। यसै क्रममा अर्की एक आन्दोलनकारी युवतीले तालिबानले अफगानिस्तानका महिलामाथि दमन गरिरहेको बताइन्।

गत वर्ष अगस्ट १५ मा अमेरिकी सेनाले अफगानिस्तान छोडेपछि दुई दशकपछि तालिबान सत्तामा फर्किएको थियो। त्यसयता तालिबान सरकारले महिलामाथि धेरै प्रतिबन्ध लगाएको छ। महिलाहरूलाई सरकारी जागिरबाट निकालेको थियो, एक्लै यात्रा गर्न प्रतिबन्ध लगाएको थियो र कुरान अनुसारका पोशाक लगाउन आदेश दिइएको छ।

गत वर्ष सत्तामा फर्किएपछि तालिबानले आफ्नो शासन लचिलो बनाउने वाचा गरेको थियो। सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानमा तालिबानको शासनकालमा धेरै अत्याचार भएका थिए तर पहिलेका जस्तै अझै पनि धेरै प्रतिबन्धहरू छन्। तालिबानले राष्ट्रियस्तरमा त्यस्ता प्रतिबन्ध घोषणा नगरे पनि स्थानीय तहमा यस्ता कठोर धेरै आदेश लागू गरेको छ।

यो निर्णयले सम्भावित अन्तरराष्ट्रिय दाताहरूबाट मान्यता प्राप्त गर्ने तालिबानको प्रयासमा प्रतिकूल असर पार्ने सम्भावना छ। अफगानिस्तान मानवीय संकटबाट गुज्रिरहेका वेला तालिबानले यो कदम चालेको हो।

सहायता संगठनहरूले यस कदमले अफगानिस्तानको भविष्यको बारेमा अनिश्चितता बढाएको बताए।

छात्राका लागि छैटौँ कक्षाभन्दा माथिका कक्षा नखोल्ने निर्णय गरेसँगै अन्तरराष्ट्रिय समुदायले आवाज उठाएको छ। यसैबीच अमेरिकाले दोहामा तालिबानसँगको बैठक रद्द गरेको छ। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले उक्त जानकारी दिएका हुन्।

अमेरिकी विशेष प्रतिनिधि थोमस वेस्टले यो निर्णयबाट स्तब्ध भएको बताएका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार