‘पुटिन सत्तामा रहन नसक्ने’ बाइडनको भनाइविरुद्ध रुसको आलोचनात्मक प्रतिक्रिया

अमेरिकी राष्ट्रपति जो बाइडनले भ्लादिमिर पुटिन “सत्तामा रहन नसक्ने” बताएका छन्। युरोप भ्रमणका रहेका उनले पोल्यान्डको राजधानी वार्सामा दिएको एक मन्तव्यमा “ईश्वरका लागि पुटिन सत्तामा रहन सक्दैनन्” भनेका हुन्। उनको भनाइमाथि क्रेमलिनले आलोचनात्मक प्रतिक्रिया जनाएको छ। क्रेमलिनले भनेको छ, “रुसको राष्ट्रपति रुसीहरूले छनौट गरेकाले पुटिन सत्तामा रहने वा नरहने निर्णय बाइडनले गर्ने होइन।”

लगत्तै ह्वाइट हाउसले बाइडनको भनाइले शासन परिवर्तनको लागि आह्वान नगरेको बताउँदै स्पष्टीकरण दियो। “राष्ट्रपतिले पुटिनलाई छिमेकी मुलुक वा कुनै पनि क्षेत्रमाथि शक्ति प्रयोग गर्न दिन नसक्ने बताएका हुन्,” एक अधिकारीले भने। रुसले युक्रेनविरुद्ध आक्रमण गरेको सन्दर्भमा यी भनाइहरू आएका हुन्। एक महिनाअघि सुरु भएको आक्रमण अझै जारी छ।

निरन्तर आक्रमण र क्षति

अघिल्लो साताको अन्त्यमा रुसले आफ्नो रणनीतिमा परिवर्तन गर्ने सङ्केत दिँदै युक्रेनको पूर्वी क्षेत्रलाई “मुक्त” बनाउन केन्द्रित हुने घोषणा गरेको थियो। तर निरन्तर प्रहार भइरहेका विवरणहरू सार्वजनिक भएका छन्। हालसम्मको सबैभन्दा भीषण लडाइँबाट जोगिएको भनिएको ल्भिभमा थुप्रै शक्तिशाली विस्फोटको आवाज सुनिएको अधिकारीहरूले बताएका छन्। यस पश्चिमी सहरको बाहिरी क्षेत्रमा कालो र बाक्लो धुवाँ उडिरहेको देखिएको बताइएको छ।

ल्भिभका गभर्नर म्याक्सिम कोजित्स्कीले पछिल्लो विस्फोटहरूमा परी पाँच जना घाइते भएको र रकेट आगलागीका कारण इन्धन भण्डारण केन्द्र र एउटा कारखानामा क्षति पुर्‍याएको जानकारी दिए। हालसम्म यस क्षेत्र देशका अन्य भागहरूबाट सुरक्षित स्थान खोज्दै पुगेका शरणार्थीहरूको लागि आश्रय केन्द्र बनेको छ।

उक्त आक्रमण, बाइडनले ल्भिभबाट करिब ४०० किलोमिटर टाढा वार्सामा भाषण गरेको केही समयपछि भएको हो। चेर्निहाइभका मेयरका अनुसार उत्तरी युक्रेनी सहरलाई पनि अहिले रुसी सेनाले पूर्ण रूपमा घेरेको छ।

चर्नोबलको पारमाणविक ऊर्जा केन्द्रका थुप्रै कामदारहरू आश्रित स्लावुटिच सहरलाई पनि रुसी सेनाले कब्जा गरेको थियो। क्षेत्रीय गभर्नरका अनुसार त्यहाँका स्थानीय बासिन्दाहरूले युक्रेनी झन्डा फहराए र रुसको विरोधमा देशभक्ति गीतहरू गाएका थिए।

रुसी सेनाले उत्तर पूर्वी सहर खार्किभमा रहेको पारमाणविक अनुसन्धान केन्द्रमा पनि गोली प्रहार गरेको युक्रेनी संसद्ले जनाएको छ। निरन्तर भइरहेको रुसी गोलाबारीका कारण घटनास्थलमा भएको क्षतिको आकलन गर्न नसकेको बताइएको छ। बीबीसी नेपाली

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार