नेपालमा भूराजनीतिक चलखेलको प्रयास अस्वीकार्य : चिनियाँ विदेश मन्त्री

काठमाडौं । काठमाण्डूको तीन दिने भ्रमणमा रहेका चिनियाँ स्टेट काउन्सीलर वाङ यीले नेपालमा हुने कुनै पनि किसिमको भूराजनीतिक चलखेलको प्रयासको चीनले विरोध गर्ने बताएका छन्।

चिनियाँ विदेशमन्त्रालयका अनुसार परराष्ट्रमन्त्री डाक्टर नारायण खड्कासँगको छलफलमा उनले चीनले नेपाललाई गर्ने तीनवटा समर्थनका क्षेत्रबारे चर्चा गरेका थिए।

नेपालले अमेरिकी अनुदान सम्झौता मिलेनिअम च्यालेन्ज कर्पोरेशनको संसद्‌बाट अनुमोदन गर्ने क्रममा बेइजिङ र वाशिङ्टन डीसीबाट प्रकट भएका चासोहरू सेलाउन नपाउँदै उनी नेपाल आइपुगेका हुन्।

दक्षिण एसियाका विभिन्न देशहरूको भ्रमण सम्पन्न गर्ने क्रममा भारतहुँदै नेपाल झरेका वाङले नयाँ दिल्लीबाट भारतका राष्ट्रिय सुरक्षा सल्लाहकारसँग दक्षिण एसियामा चीन र भारतको सहकार्य सहितका विषयमा कुराकानी गरेको बताइन्छ।
शनिवार प्रधानमन्त्री शेरबहादुर देउवा र आफ्ना समकक्षी डाक्टर नारायण खड्कालाई भेटेका उनले नेपाल चीन सहकार्यबाहेक भूराजनीतिक चुनौतीले दुई देशबीचको सम्बन्धमा पार्ने प्रभावका बारेमा पनि चर्चा गरेका थिए।
चिनियाँ विदेशमन्त्रालयका अनुसार विदेशमन्त्री वाङले अन्तर्राष्ट्रिय वा दुई देशको घरेलु अवस्थामा जस्तो सुकै परिवर्तन आए पनि चीनले दुई देशका नेताहरूले तय गरेको मार्गचित्रलाई समर्थन गर्ने र नेपालप्रति मित्रवत् नीतिहरूलाई अडिग भएर कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार