लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा धवलागिरिवासी मर्कामा

शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार बिहानसम्मै सम्पर्क टुट्यो । सञ्चार सञ्जालको महत्व बढिरहेको समयमा ८/१० घण्टा नै इन्टरनेट र फोन सेवाबाट धवलागिरिवासी बञ्चित बने । यस्तो समस्या धवलागिरिको बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा दोहोरिँदै आएको छ ।

शुक्रबार पर्वत जिल्लाको मोदी गाउँपालिकास्थित पातिचौरमा राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पुष्पलाल मध्यपहाडी लोकमार्गले सडक विस्तारका क्रममा फाइबर काटिदिएपछि टेलिफोन र इन्टरनेट बन्द भएको नेपाल टेलिकमले बतायो । अहिले लोकमार्गको पोखरा–बागलुङ खण्ड विस्तार र कालोपत्रको काम तीव्रगतिमा चलिरहे पनि लोकमार्ग आयोजनाको कार्यालयले अन्य सेवा प्रदायक कार्यालयसँग समन्वय नगर्दा धवलागिरिमा पटक–पटक टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध हुँदै गएको छ । पटक–पटक फाइबर काटिँदा सञ्चार सम्पर्क विच्छेद भइरहेको स्थानीयवासीले गुनासो गर्दै आएका छन् ।

नेपाल टेलिकमको फाइबर पुष्पलाल मध्यपहाडी लोकमार्गको छेउछाउबाट धवलागिरिमा ल्याइएको छ । लोकमार्ग आयोजनाले नेपाल टेलिकमलाई खबर र समन्वय नगरी सडक विस्तार गर्दा पटक–पटक समस्या भइरहेको नेपाल टेलिकमका प्रमुख केशव शर्मा बताउँछन् । धवलागिरिमा हप्तैपिच्छे १०/१२ घण्टा सञ्चार सम्बन्धविच्छेद हुँदै आएको छ । “कहिले कास्कीको हेम्जा, कहिले नौडाँडामा फाइबर काटिन्छ तर सेवा अवरुद्ध भएपछि मात्रै हामीले खबर पाउँछौँ”, कार्यालय प्रमुख शर्माले भने । “इन्टरनेट र फोन सेवा कतिबेला अवरुद्ध हुन्छ पत्तै पाइँदैन, मध्यपहाडी लोकमार्ग आयोजनाले समन्वय नगर्दा फाइबर काटेर टुक्राटुक्रा पारिसक्यो”, टेलिकम प्रमुख शर्माले भने, “कम्तीमा आयोजनाले सडक विस्तार गर्दा खबरमात्रै गरे हुन्थ्यो, आयोजनाले समन्वय नगर्दा पोखरा– बागलुङको फाइबर टुक्राटुक्रा परिसक्यो, सेवाग्राहीले धेरै सकस व्यहोर्नुप¥यो, हामीले पनि गाली खाइरहेका छाँै ।” शर्माका अनुसार धेरै स्थानमा फाइबर काटिँदा सञ्चार गुणस्तरमा समस्या हुने गर्दछ ।

सडक विस्तारका क्रममा विद्युत्को पोल सार्नुपर्ने हुन्छ, त्यही विद्युत्को पोलमा टेलिकमको तार भए पनि विद्युत् सार्ने क्रममा टेलिकमलाई तार सार्न नबोलाउँदा यस्तो समस्या दोहोरिरहेको टेलिकमको भनाइ छ । सडकभन्दा सञ्चार महत्वपूर्ण भए पनि लोकमार्ग आयेजनाले विद्युत्को पोल हटाउँदा टेलिकमलाई खबर गर्नुपर्ने नेपाल टेलिकम बागलुङले जनाएको छ ।

एक मिनेट सञ्चार नहुँदासमेत समस्या हुने अवस्थामा घण्टौँ सञ्चार अवरुद्ध हुँदा निकै समस्या भइरहेको बागलुङका पत्रकार सङ्गम घर्तीले गुनासो गरे । सडक विस्तार गर्नुअघि विद्युत्लाई नयाँ पोल गाड्न खबर गरेपछि विद्युत्ले तार विस्तार गर्ने मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख मेघराज मरासिनीले जानकारी दिए । “विद्युत् प्राधिकरणलाई खबर गर्दा टेलिकमलाई खबर नपुगेको हुन सक्दछ, त्यस्तो भएमा हामीले अब समन्वयलाई बढाउँदै लैजान्छौँ”, उनले भने, “आयोजनाले काम गर्ने होइन, ठेकेदारले काम गर्दा कतिपय कुरा आयोजनालाई नै जानकारी दिन्न, हामीले पटक–पटक विद्युत् कार्यालयलाई पत्र नै लेखेर समन्वय गर्दै आएका छौँ”, “ठेकेदारलाई विद्युत्को पोलमा फाइबर हुन्छ भन्ने जानकारी नहुन पनि सक्दछ”, मरासिनीले भने, “निर्माण व्यवसायीलाई टेलिकमसँग समेत समन्वय गरेर सडक विस्तार गर्न भन्दै आएका छौँ, अबदेखि त्यस्तो समस्या नदो¥याउन आयोजनाले थप समन्वय गर्दै जानेछ ।”

टेलिकमलाई समेत जानकारी गराउँदै आएको पुरानो पोल आयेजनाले हटाउँदै आएको छ । नेपाल टेलिकमले सात वर्षदेखि गुणस्तरीय र उच्च गतिको इन्टरनेट र फोन सेवा दिनका लागि लोकमार्गबाटै फाइवर तार धवलागिरिमा भित्र्याएको थियो । अहिलेको प्रविधिमैत्री समयमा इन्टरनेट अवरुद्ध हुँदा सबै सेवा अवरुद्ध हुँदै आएको छ । फाइबर तार आयोजनाकै कारण करिब १०० भन्दा बढी स्थानमा टुक्रा परेको टेलिकमले जनाएको छ । जहाँ काट्यो त्यही जोड्न नमिल्ने फाइबर तार पछिल्लो समय धेरै स्थानमा टुक्रा पर्दा गुणस्तरमा समस्या भइरहेको र फाइबरबाटै टेलिभिजन चलाउँदा नयाँ फाइबर ल्याउनुपर्ने अवस्था आएको टेलिकम बागलुङ शाखाले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार