एक वर्ष नबित्दै बिग्रन थाले लाप्राकको एकीकृत बस्तीका घरहरु

हिमालको काखैमा हिमालजस्ता सुन्दर घर छन् । लाप्राकको गुप्सीपाखामा रहेको एकीकृत बस्तीमा हिउँदका तीन महिना हिउँको कलाकारिता देख्न पाइन्छ । तर नमुना बस्ती नाम दिइएका घर बाहिरबाट जति आकर्षक छन्, तिनको भित्री संरचना भने ज्यादै कमजोर छ । २०७२ सालको भूकम्प प्रभावितका लागि गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले बनाइदिएका नमुना बस्तीमा धेरै प्राविधिक त्रुटि रहेको स्थानीयवासीको गुनासो छ ।

निर्माण सकिएको एक वर्ष नबित्दै धेरै घरका झ्याल–ढोका काम नलाग्ने भएका छन् । प्रयोग गरिएका फलाममा खिया लाग्न थालेको छ । काठ पनि कुहिन थालेको स्थानीय मारसिंह गुरुङ बताउछन् । “बरन्डामा पानीले भिजेर फलामका खम्बा सबै खाइ (खिया) लागेको छ । काठ पनि पानीले भिजेर कुहिन थालेको छ,’’ उनले भने, “न ती खम्बामा प्राइमर (खिया र पानीबाट बचाउने रङको पहिलो पत्र) लगाइदिनुभयो, न त हामीलाई नै लगाउन भन्नुभयो । त्यो नहुँदा एक वर्षमै घर काम नलाग्ने भइसके ।”

कुल ५७३ घरमध्ये करिब आधाजसोमा काठको खम्बा हालिएको छ भने आधा घरमा फलाम प्रयोग गरिएको छ । सम्झौताअनुसार काठ उपलब्ध नभएपछि बाँकी घरमा फलाम प्रयोग गरिएको वडाध्यक्ष राज गुरुङले बताए । ग्रामीण भेगका भुइँघरमा पनि प्लास्टिकका झ्याल–ढोका राखिदिँदा स्थानीयवासीले दुःख पाएका छन् । कतिपयले फेरेर काठका झ्याल–ढोका हालेका छन्, नसक्नेलाई चोरको डर छ ।

“राति सुत्दा पनि झ्याल–ढोका फोडेर चोर आउँछ कि भनेर डर लाग्छ,” घर नम्बर एल–३७ की रीतिमाया गुरुङले भनिन्। जस्ता पनि कमसल रहेको उनको अनुभव छ । “कसैले एउटा सानो ढुङ्गाले हान्यो भने पनि फुट्ने रैछ,’’ उनले भनिन्, “फलाम खिया लाइसक्यो । राम्रो भए पनि नभए पनि यहीँ बस्नुप(यो । अन्त जाउँ ठाउँ छैन ।”

अधिकांशले पुरानै ठाउँमा आफैँले घर बनाएका छन् । लाप्राकको पुरानो गाउँमा घर बनाउन नसक्ने र जग्गा–जमिन नभएका करिब २० घरपरिवार मात्र अहिले नयाँ बस्तीमा सरेका छन् । तीमध्ये पनि स्थायी रूपले बस्ने १२÷१३ घरभन्दा बढी नरहेको उनले बताइन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार