सरकारी अस्पताललाई सर्वसाधारणमैत्री बनाउन उपप्रधानमन्त्री पोखरेलको निर्देशन

उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारी अस्पतालहरुलाई सर्वसाधारण मैत्री बनाउन निर्देशन दिएका छन् ।
काठमाडौं क्षेत्र नम्बर ५ मा पर्ने चार वटा ठूला सरकारी अस्पतालका प्रमुखहरुसँगको आजको बैठकमा उपप्रधानमन्त्री पोखरेलले सरकारी अस्पतालहरुलाई सर्वसाधारण जनतामैत्री बनाउन निर्देशन दिएका हुन् । असहाय र गरिब जनताको भरोसा नै सरकारी अस्पताल भएकाले विशेष ध्यान दिन आग्रह गर्दै उपप्रधानमन्त्री पोखरेलले सरकारी अस्पतालको सेवामा सुधार हुँदा बिरामीहरुले निकै ठूलो राहत पाउने बताए ।

उपप्रधानमन्त्री पोखरेल सोमबार बाँसबारीस्थित गंगालाल अस्पताल पुगी आफ्नो निर्वाचन क्षेत्र काठमाडौं ५ अन्तरगत पर्ने टिचिङ अस्पताल, कान्ति बाल अस्पताल, गंगालाल हृदयरोग केन्द्र र नेपाल प्रहरी अस्पतालले प्रदान गर्दै आएका सेवा, सुविधा र समस्या समाधानका विषयमा छलफल गरेका थिए निर्वाचनका बेला जनतासँग गरेको प्रतिबद्वता अनुसार सरकारी अस्पतालको सेवा सहज, सरल र र गुणस्तरीय बनाउन आफू प्रतिबद्ध रहेको उनले बताए । सरकारी अस्पतालको स्तरोन्नतिका लागि सरकारको आगामी नीति तथा कार्यक्रममा समेट्ने योजनाहरु दिन उपप्रधानमन्त्री पोखरेलले आग्रह पनि गरेका छन् । छलफलमा काठमाडौं क्षेत्र नम्बर ५ का प्रदेश सभा सदस्य दीपक निरौला पनि सहभागी थिए । काठमाडौं क्षेत्र नम्बर ५ मा रहेका सरकारी अस्पतालको सेवालाई प्रभावकारी बनाउन आफूले सक्दो सहयोग गर्ने उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार