घाइते सांसदलाई थप उपचारका लागि काठमाडौं ल्याइयो

सर्लाहीको ईश्वरपुर नगरपालिकामा रहेको बयलबास बजारमा झडप हुँदा घाइते भएका सर्लाही क्षेत्र नम्बर–१ का सांसद प्रमोद साहलाई थप उपचारका लागि काठमाण्डौ ल्याइएको छ ।

उनको स्थानीय अस्पतालमा सामान्य उपचारपछि हेलिकप्टरबाट थप उपचारका लागि काठमाण्डौ ल्याइएको हो । बिहान स्थानीय युवा र सांसद साह पक्षबीच झडप हुँदा स्थानीयले हानेको ढुङ्गा लागेर उनी घाइते भएका थिए। सांसद साहको टाउकोमा गहिरो चोट लागेको प्रहरी कार्यालय ईश्वरपुरले जनाएको छ ।

सडक निर्माण गर्दा भत्किएको फूलजोड युवा क्लबको भवन त्यसै ठाउँमा बनाउने कि नबनाउने भन्ने विषयमा दुई पक्षबीच भनाभन हुँदा झडप भएको थियो ।

प्रदर्शनमा उत्रिएका स्थानीयले सांसद साहको सुरक्षाका लागि खटिएका पीएसोको पेस्तोल र त्यसमा लाग्ने सात राउन्ड गोली खोसेर पीएसोमाथि आक्रमण गरेको बताइएको छ ।

खोसिएको पेस्तोल र गोली स्थानीयले केही समयपछि नै प्रहरीलाई बुझाएका छन् । प्रहरीले भिडलाई तितरबितर पारेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार