बिमस्टेक सम्मेलनलाई प्रधानमन्त्री देउवाले काठमाडौँबाटै सम्बोधन गर्ने

परराष्ट्रमन्त्री खड्का भने सहभागी हुन कोलम्बो जाने

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक)को पाँचौ शिखर सम्मेलनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँबाटै सम्बोधन गर्ने भएका छन् ।

श्रीलंकको राजधानी कोलम्बोमा हुने बिमस्टेक शिखर सम्मेलनलाई प्रधानमन्त्री देउवाले भर्चुअल माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । बिमस्टेकको पाँचौं शिखर सम्मेलन चैत १६ गतेदेखि सुरु हुँदैछ ।

प्रधानमन्त्री देउवा केही दिन अघिसम्म श्रीलंका जाने तयारीमा थिए । अचानक उनको भारत भ्रमण तय भएपछि श्रीलंकामा हुने बिमस्टेक सम्मेलनलाई भर्चुअल रुपमा सम्बोधन गर्ने भएका हुन् ।

सम्मेलनमा सहभागीता जनाउन परराष्ट्रमन्त्री नारायण खड्का नेतृत्वको प्रतिनिधिमण्डल भने कोलम्बो जाने भएको छ ।

बिमस्टेकको सम्मेलनअघि हुने मन्त्रीस्तरीय बैठकमा सहभागी हुन उनी श्रीलंका जान लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनु्सार परराष्ट्रमन्त्री खड्का चैत १४ गते काठमाडौंबाट त्यसतर्फ प्रस्थान गर्नेछन् । चैत १५ गते कोलम्बोमा हुने बिमस्टेक मन्त्रीस्तरीय बैठकमा उनी सहभागी हुनेछन् ।

बिमस्टेकको साइडलाइनमा उनले अन्य देशका विदेशमन्त्रीसँग द्विपक्षीय वार्ता गर्ने परराष्ट्रले जनाएको छ । उनी चैत १७ गते स्वदेश फर्कनेछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार