आत्महत्या निरुत्साहनको कथा ‘बरदान’ (भिडियो)

मानसिक स्वास्थ्य र आत्महत्या रोकथामको कथामा निर्माण भएको छोटो चलचित्र हो ‘बरदान’। चलचित्रमा विविध कारणले आत्महत्याको प्रयास गर्न बाध्य पारिएकी एक नारीको कथालाई उठान गरिएको छ ।

कथाको सुरुवात नायिका नम्रता श्रेष्ठको प्रेमका प्रसंगबाट हुन्छ जहाँ पत्रकारको भूमिकामा देखिएकी कलाकार लुनिभा तुलाधरले नम्रतालाई उनका प्रेमका प्रसंगबारे कुराहरु खोतली रहेको देखाइन्छ । नम्रता आफ्नो पहिलो प्रेमी प्रविण खतिवडाबाट धोका पाएपछि आत्महत्याको प्रयासमा हुन्छिन्। तर, उनलाई चलचित्रका अर्का नायक दयाहाङ राईले आत्महत्या गर्नबाट रोक्छन् । दयाहाङको सहानुभुतीले नम्रताको मन पग्लिन्छ । तर, यसपछि पनि नम्रताले फेरि प्रेममा धोका पाउँछिन् । उनले आफूले भित्र भित्रै मनपराएको मान्छेलाई नपाएपछि फेरि आत्महत्या प्रयास गर्छिन् । यिनै कुराहरुको संगालो नै चलचित्रको कथा हो । चलचित्रको कथा नै नायिका नम्रता श्रेष्ठ वरपर मात्र घुमेको छ ।

छोटो चलचित्रका रूपमा प्रस्तुत यस कथाको विषयवस्तुले मानिस कसरी आत्महत्या गर्छन् र कसरी यो अवस्थामा पुग्छन् भन्ने कुरा दर्शाइएको छ । चलचित्रले भावुकता र रिक्तताको पूर्ण बयान गरेको छ । जीवनमा आइपर्ने सानो घटनाले कसरी कालान्तरमा ठूलो परिवर्तन ल्याउछ भन्ने कुरा कथावस्तुमा समावेश गरेको पाइन्छ ।

कथाले मानिसले आफ्नो जीवनमा भोग्नुपरेको एउटै घटना बारम्बार दोहोरिरहँदा त्यो घटनापछि कुन अवस्थासम्म पुग्नसक्छ भन्ने कुरा बताउन खोजेको छ । कथाले समग्रमा व्यवहारिक जीवनमा आइपर्ने समस्याबाट विचलित भएर आत्महत्या गर्ने होइन बरु मनोबल बढाएर सकारात्मक दिशातर्फ जानुपर्छ भन्ने सन्देश दिन खोजेको छ । जीवनमा प्राकृतिक हिसाबले भोग्नुपरेको असमानता र परिस्थितिको कथा हो, ‘बरदान’।

विवाहका लागि वाचा गरिसकेका केटाले प्रेमिका माथि विभिन्न खोट देखाउनु र विवाह नगर्ने अवस्थामा पुग्नु मर्मस्पर्शी कुरा हो। जुन कुराले मानिसमा परिवर्तनको सोच भन्दा पनि नैरश्यताको भाव व्यक्त गरेको प्रष्ट रूपमा देख्न सकिन्छ ।

२४ मिनेटको छोटो चलचित्रमा दयाहाङ राई, नम्रता श्रेष्ठ, प्रविण खतिवडा, लुनिभा तुलाधर, पुष्कर गुरुङ, जयनन्द लामा, शारदा गिरी, सुनिता श्रेष्ठ, कृष्णभक्त महर्जनको अभिनय गरेको चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार