सिंहदरबार गुरुयोजना छिट्टै ल्याइन्छ : मन्त्री झाँकी

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सिंहदरबार गुरुयोजना छिटोअघि बढाइने बताएकी छिन्। मन्त्रालयमा आज आयोजित छलफल कार्यक्रममा मन्त्री झाँक्रीले देशको प्रमुख प्रशासकीय केन्द्रलाई वर्षौसम्म अव्यवस्थित बनाएर राख्न नहुने बताउँदै सिंहदरबार गुरुयोजना स्वीकृत गरेर छिटो अघि बढाइने बताएकी हुन् ।

उनले भनिन्, “देशको प्रमुख प्रशासकीय केन्द्रलाई अस्तव्यस्त बनाएर गुरुयोजना अलपत्र पार्न मिल्दैन । सकेसम्म छिटोअघि बढाउन गृहकार्य थालेका छौँ ।” उनले सिंहदरबारभित्र युटिलिटी कोरिडोर बनाएर एकीकृत विकास योजना अघि बढाउनुपर्ने बताइन् ।

सबै निकायको संलग्नतामा र अपनत्व हुने गरी गुरुयोजना स्वीकृत गरिने बताउँदै उनले सिंहदरबार गुरुयोजनामा सुरक्षा संवेदनशीलतालाई ख्याल गरी सर्वसाधारणको प्रवेशलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताइन् । मन्त्री झाँक्रीले सिंहदरबार गुरुयोजना थप मजबुद बनाउन नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, शहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण संलग्न टास्क फोर्स बनाएर गुरुयोजना बनाइने बताइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार