पल शाह उच्च अदालत जाने

नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोग लागेका अभिनेता पल (पूर्णविक्रम) शाह  जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठाउन दिएको आदेशविरुद्ध उच्च अदालतमा जाने भएका छन् ।  बिहीबार जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।  शाहलाई उनकै बयानको आधारमा बलात्कार नगरेको प्रमाणित हुन नसकेको भन्दै पुर्पक्षमा थुनामा पठाउने आदेश दिएको थियो ।

शाहविरुद्ध किटानी जाहेरी, पीडितको घटना विवरण कागज, शारीरिक जाँच रिपोर्ट, राति १२ बजेतिर पीडितको कोठामा प्रवेश गरेको भनी प्रतिवादीको बयानका आधारमा जबर्जस्ती करणी देखिन आएको अदालतको आदेशमा उल्लेख छ । शाहले जबर्जस्ती करणी गरेको भनी पीडित किशोरीले गुनासो गरेपछि घटनाबारे थाहा पाउने स कुमारी (परिवर्तित नाम) दुर्गेश थापा, कमल खत्री, सरोज ओली भन्ने पुण्यप्रसाद ओली, योगेश शाह र दुर्गा अधिकारीबीच न्यायिक कारबाहीमा जाने विषयमा छलफल भएको घटना विवरण कागजलाई पनि आधार मानिएको छ ।

‘तत्काल प्राप्त प्रमाणका आधारमा विश्लेषण गर्दा शाहले ललाइफकाई विवाह गर्छु भनी प्रलोभन देखाई जबर्जस्ती करणी गरेको देखिन आएकाले पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ को उपदफा १ को खण्ड ‘ख’ बमोजिम थुनामा राखी पुर्पक्ष गर्ने गरी कारागार पठाइदिनू,’ अदालतको आदेशमा छ ।

शाहले जबर्जस्ती करणीलाई इन्कार गरे पनि बयानमा १२ बजेतिर म्यासेज गरी बियर लिएर किशोरीको कोठामा प्रवेश गरेको तथ्यलाई स्विकारेको अदालतले जनाएको छ । तर, एक्लै सुतेकी किशोरीको कोठामा प्रवेश गर्नुपर्ने कुनै औचित्यता प्रतिवादीले देखाउन नसकेको आदेशमा भनिएको छ । पीडितको कोठामा प्रवेश गरेका शाहको स्विकारोक्ति र सोही रात किशोरीलाई जबर्जस्ती करणी गरेको तथ्यसँग मिल्नभिड्न आएको देखिएको आदेशमा छ ।

बुधबारदेखि सुरु थुनछेकको बहस बिहीबार सकिएलगत्तै शाहलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश भएको हो । शाहको पक्षबाट १२ कानुन व्यवसायी र पीडितको पक्षबाट ७ जनाले बहस गरेका थिए । अभियोगपत्र दर्ता भएलगत्तै मंगलबारै अदालतले शाहको बयान लिएको थियो । शाहविरुद्ध पूर्वी नवलपरासी जिल्ला अदालतमा पनि सोही प्रकृतिको मुद्दा दर्ता भएको छ । शाहविरुद्ध १६ वर्षीया किशोरीलाई विभिन्न प्रलोभन देखाएर जबर्जस्ती करणी गरेको अभियोगपत्र दर्ता भएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँमा १७ वर्षीया किशोरीका बुबाले म्युजिक भिडियो छायांकनका क्रममा शाहले बारम्बार जबर्जस्ती करणी र यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै गत फागुन ११ गते जाहेरी दर्ता गराएका थिए । जाहेरीमा म्युजिक भिडियो सुटिङका क्रममा पटकपटक करणी प्रयास गरेको र विवाहको प्रलोभन देखाई तनहुँमा करणी गरेको उल्लेख गरिएको थियो ।

जाहेरी दर्ता भएपछि फागुन १५ मा शाह प्रहरीको सम्पर्कमा आएका थिए । किशोरीले फागुन १६ मा पूर्वी नवलपरासी प्रहरीमा पनि सोही प्रकृतिको जाहेरी दिइन् । प्रहरीले अदालतबाट गत फागुन १५ गते सात दिन, २२ गते १२ दिन र चैत ४ गते ५ दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गरेको थियो । शाहलाई फागुन २४ मा पूर्वी नवलपरासी लगेर बयान लिइएको थियो । उनीविरुद्ध त्यहाँ पनि जबर्जस्ती करणीको मुद्दा दर्ता भइसकेको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार