श्रीलङ्काको सङ्कटबाट नेपालले सिक्नु पर्ने पाठ

ऋण तिर्न नसकेर झन्डै टाट पल्टिएको दक्षिण एसियाली मुलुक श्रीलङ्कामा अचेल सेना खटाएर पेट्रोल बाँडिदैछ।विदेशी मुद्रा सञ्चितीको चरम अभाव अनि ऋण तिर्ने क्षमता खस्किएका कारण सुरु भएको उसको समस्या अब चर्को महँगी र अत्यावश्यक सामग्रीको अभावमा पुगेर आम पीडाको विषय बनिसकेको छ।तुलनात्मक समृद्ध र केही वर्षयता स्थिर श्रीलङ्कामा अचानक आइपरेको आर्थिक सङ्कटले अचेल धेरै नेपालीहरूलाई झस्काइरहेको छ।

के अब नेपाल पनि श्रीलङ्काकै मार्गमा हिँडिरहेको हो ? भन्ने जस्ता प्रश्न चियापसलका गफहरूमा मात्र सीमित छैनन् बरु अग्रणी अर्थविद्हरूले नै सतर्क रहन चेतावनी दिन थालिसकेका छन्।समष्टिगतसूचक भनिने अर्थतन्त्रको स्वास्थ्य दर्शाउने केही सूचकहरू यो आर्थिक वर्षको सुरुदेखि नै निरन्तर खस्किरहेको केन्द्रीय ब्याङ्कको मासिक विवरणहरूले देखाइरहेका छन्।सबभन्दा चिन्ताजनक अवस्था विदेशी मुद्रा सञ्चितीको प्रवृत्तिमा देखिएको विज्ञहरू बताउँछन्।

असार मसान्तमा आइपुग्दा देशको ढुकुटीमा १० महिनाको वस्तु र सेवा आयात धान्ने परिमाणमा अमेरिकी डलर थियो। त्यो अहिले खस्किएर पुग नपुग ७ महिनामा झरेको छ।

करिब ११ अर्ब ७५ करोड डलरको सञ्चिती माघ मसान्तसम्म आइपुग्दा ९ अर्ब ७५ करोड डलरमा खस्किएको छ।नेपालले आर्जन गर्ने विदेशी मुद्राको प्रमुख स्रोत रेमिट्यान्स घट्नुमा पूर्व अर्थमन्त्री डा युवराज खतिवडा केही कारण देख्छन्।

उनका अनुसार भन्सार प्रशासन चुस्त नहुँदा अधिक बीजकीकरण वा कम परिमाण घोषणा गर्ने जस्ता व्यापारीक विचलन हुने गर्छ जसले रेमिट्यान्स रकम ब्याङ्कहरूमार्फत् आउनुको साटो हुन्डीमार्फत् आउन थालेको सङ्केत पनि गर्छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार