पोखराको पर्यटन विकासका लागि परिषद् र महानगरबीच छलफल

पोखराको दिगो पर्यटन विकासका लागि पोखरा महानगर र पर्यटन व्यवसायीबीच छलफल भएको छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईको नेतृत्वमा सङ्घमा आबद्ध सङ्घसंस्थाका प्रतिनिधिसहितको टोली र महानगरका प्रमुख मानबहादुर जिसीबीच कोभिड–१९ को समस्या र पोखराको पर्यटनको विषयमा छलफल भएको हो ।

कोभिड–१९ को महामारी यथावत रहेको अवस्थामा पर्यटन व्यवसायीले भोग्नुपरेका समस्यालगायत पर्यटनको दिगो विकासमा आगामी योजनाका बारेमा छलफल भएको अध्यक्ष भट्टराईले जानकारी दिए । “अहिले निकै कठिन अवस्थामा पर्यटन व्यवसायी छन्, स्थानीय सरकार व्यवसायीमैत्री हुन जरुरी छ, सँगसँगै पोखराको पर्यटनमा नवीनतम सोचसहितका पूर्वाधार अबको खाँचो हो, यही विषयमा छलफलमा जुटेका हौँ”, उनले भने । उनले महानगर प्रमुखलाई पोखराको दिगो विकासका लागि २५ बुँदे सुझावसहित ध्यानाकर्षणसमेत गराएको बताए । “हामी महानगरको पर्यटन विकासमा सहकार्य र समन्वय गरेर अघि बढ्न तयार छौँ, महानगरले अग्रसरता लिएर अघि बढ्नुपर्छ”, भट्टराईले भने ।

महानगर प्रमुख जिसीले पोखराको पर्यटन विकासका लागि आफू सधैँ सकारात्मक रहेको र नतिजामुखी कामका लागि प्रतिबद्ध भएको बताए । “पोखरा हामी सबैको हो, यसको विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा महानगर जुटिरहेको छ, कहीँकतै आँखा नपुगेको हुनसक्छ, सकारात्मक सुझावको अपेक्षा गरेका छौँ”, उनले भने, “विकासमा साझेदारी र सकारात्मक चिन्तनको आवश्यकता हुन्छ, हामी सबैको चाहना पोखरालाई समृद्ध बनाउने हो ।” प्रमुख जिसीले पर्यटन व्यवसायीसँग सहकार्य र समन्वय गरेर अघि बढ्न तयार रहेको बताए ।

परिषद्का महासचिव रामचन्द्र शर्माले पर्यटन क्षेत्रमा देखिएका समस्यासहित फेवातालको सौन्दर्य अभिवृद्धि र दिगो पर्यटन विकासका लागि देखिएका समस्यासहित महानगरले पहल गर्न सक्ने विषयमा छलफल भएको बताए । उनका अनुसार विशेषगरी फोहर व्यवस्थापन, फेवा किनारको हिमागृह र रत्न मन्दिरलाई ऐतिहासिक, पुरातात्विक पर्यटकीय सम्पदाका रूपमा विकास गर्न, पूर्वाधार निर्माण, स्वास्थ्य सचेतना, आवश्यक पूर्वाधारसहितको अस्पताल निर्माण गर्न, पर्यटकीय गन्तव्यको शुल्क एकद्वारबाट गर्न, सुरक्षाका लागि सडक बत्ती र सिसीटिभी जडान गर्न, सडक विस्तार र कनेक्टिभिटी, ट्राफिक व्यवस्थापन, सीपमूलक रोजगारको व्यवस्था, कर दर्ता प्रक्रिया साथै समस्यामा परेका व्यवसायीलाई करमा पूर्ण, आंशिकरूपमा सहुलियत, विश्व सम्पदा सूचीमा सूचीकृत पर्यटकीय गन्तव्यस्थललाई संवद्र्धन र संरक्षण, व्यवसाय दर्ता गर्नका लागि कम्पनी रजिष्टर्डको कार्यालय गण्डकी प्रदेशमा ल्याउन प्रदेश सरकारसँग महानगरलाई समन्वय गर्न विषय उठाइएको छ ।

पोखरा पर्यटकीय राजधानी भएकाले पर्यटकीय क्षेत्रमा रात्रिकालीन व्यवसाय सञ्चालनका लागि सुरक्षा निकायसँग समन्वय गरी सहज वातावरण निर्माण गर्न महानगरपालिकाबाट पर्यटनसम्बन्धी कार्यक्रमका लागि शीर्षक तोकी बजेट विनियोजन गर्नुपर्ने लगायतका विषयमा छलफल भएको शर्माले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार