नेपालमा पनि अस्पतालमा बेड र आईसियूको अभावमा संक्रमितको ज्यान जान थाल्यो

भैरहवामा दुई र नवलपरासिमा एकजनाको मृत्यु

भारतमा भयांवह बनिरहेको कोरोना संक्रमणको दृश्यले त्रसित बनाईरहेका बेला नेपालका पनि अस्पतालमा बेड र आईसियूको अभावमा संक्रमितको मृत्यु हुने क्रम बढेको छ । आईतबार र सोमबार बुटवलका दुईजनाले ज्यान गुमाएको घटना सेलाउन नपाउदैं अर्का एक ३५ वर्षीय युवाले ज्यान गुमाउनु परेको छ ।
कोरोना विशेष अस्पतालमा आईसीयूसहितको शय्या नभएकै कारण पश्चिम नवलपरासीका युवकको ज्यान गएको हो ।

पश्चिम नवलपरासी रामग्राम नगरपालिका–९ का ३५ वर्षीय युवालाई स्वास फेर्न कठिन भएपछि परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा भर्ना गरिएको थियो । उनको आज विहान निधन भएको हो ।

आईसीयूमा राखेर उपचार गर्नुपर्ने अवस्था भए पनि त्यहाँ सुविधा नहुँदा अस्पतालले बुटवल रेफर गरेको थियो ।

थप उपचारका लागि रुपन्देहीको भैरहवास्थित भीम अस्पताल र बुटवलको कोरोना विशेष अस्पतालमा भर्ना गर्न प्रयास गरे पनि शय्या अभावले सामान्य अक्सिजन दिएर जिल्ला अस्पतालमै उपचार गर्दै आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। मोहम्मद नुरूल होदाले जानकारी दिए ।

डा। होदाले भने, ‘आईसीयूमा राखेर उपचार गर्नुपर्ने बिरामीलाई शय्या अभावले जिल्ला अस्पतालमै राख्नुपर्दा उपचार अभावमै उनको ज्यान गयो । बिरामीको अवस्था कमजोर भएकाले सोमबार नै भैरहवा र बुटवलको कोभिड अस्पतालमा अनुरोध गरे पनि ठाउँ पाइएन,’ उनले भने ।

दुई दिनअघि मात्र उनका बाबुको पनि कोरोनाका कारण घरैमा मृत्यु भएको थियो । नवलपरासीमा दोस्रो चरणको कोरोना संक्रमण सुरू भएदेखि जिल्लामा ५ जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य प्रमुख कृष्णप्रसाद पोखरेलले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार