अन्तराष्ट्रिय बजारमा तेलको मूल्य उकालो लाग्दै, प्रतिव्यारेल २०० डलरमाथि पुग्न सक्ने

रुस युक्रेन युद्धको प्रभाव अन्तराष्ट्रिय बजारमा परेको छ । विशेषगरी यो युद्धका कारण अन्तराष्ट्रि बजारमा तेलको मूल्य आकाशियको छ । सीपीसी पाइपलाइनमार्फत हुने रुस र काजकस्तानको कच्चा तेलको निर्यातमा अवरोध देखिएपछि तेल बजारले बुधवार टेवा पाएको हो ।

उक्त दिनको कारोबारमा लन्डन स्थित आईसीईको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल साढे ४ प्रतिशत ९५ डलर १६ सेन्ट०ले बढेर १२० डलर ६४ सेन्टसम्म उक्लिएको थियो ।

अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सास इन्टरमिडियटको भाउ पनि प्रतिब्यारेल ४ दशमलव ४ प्रतिशत (४ डलर ८३ सेन्ट ले बढेर ११४ डलर १ सेन्ट) मा उक्लिएको थियो ।

विश्वको दोस्रो ठूलो कच्चा तेल निर्यातकर्ता रुसमाथि थप प्रतिबन्ध लाग्ने सम्भावनाबीच बजारमा तीव्र उतारचढाव आइरहेको छ । बिहीवार ब्रसेल्समा यूरोपेली देशका नेताहरुसँगको भेटघाटमा अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसमाथि थप प्रतिबन्धहरु घोषणा गर्दैछन् ।

रुसको कच्चा तेल र तेल उत्पादनमा बन्देज लगाउने विषयमा यूरोपेली संघका सदस्य राष्ट्रहरु विभाजित छन् । तेलको भाउ यो गर्मीयाममा प्रतिब्यारेल १५० डलर सम्म पुग्न सक्ने अनुमान त्राफिगुराका बेन लककले बताएको भन्दै फाइनान्सियल टाइम्सले समाचार छापेको छ । भाउ २०० डलरमाथि उक्लिन सक्ने सम्भावनातर्फ पनि लककले औंल्याएका छन् ।

रुसले मंगलवार क्याप्यिन पाइपलाइन कन्सोर्टियम (सीपीसी) मार्फत हुने तेल निर्यात घट्ने चेतावनी दिएपछि तेल बजारमा उकालो लाग्न थालेको हो ।बुधवार पाइपलाइन मर्मतका लागि सीपीसीको निर्यात पूर्ण रुपमा ठप्प भएको थियो । मर्मत सम्पन्न हुन कम्तिमा पनि डेढ महीना लाग्न सक्ने बताइएको छ ।

विश्वको दोस्रो ठूलो इन्धन खपतकर्ता अमेरिकामा कच्चा तेलको सञ्चितिमा आइरहेको कमीले पनि तेलको भाउलाई हालैका दिनमा टेवा दिइरहेको छ ।अमेरिकी पेट्रोलियम इन्ष्टिच्यूटले सार्वजनिक गरेको तथ्यांकअनुसार मार्च १८ मा सकिएको हप्तामा अमेरिकाको कच्चा तेल सञ्चिति ४३ लाख ब्यारेलले घटेको देखाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार