एनआईसी एसिया बैंकको चमत्कार, १६ सूचकमा पहिलो

पछिल्लो केही वर्षदेखि मुलुकको बैंकिङ्ग क्षेत्रमा आक्रामक रुपमा आएको एनआईसी एसिया बैंकले चालू आर्थिक वर्ष २०७८/०७९ को दोस्रो त्रैमासमा पनि आफ्नो ‘नम्बर वान पोजिसन’ अधिकांश सूचकांकहरुमा यथावत राखेको छ । प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेको नेतृत्वमा रहेको बैंकले पछिल्लो एक वर्षको प्रगतिको ग्राफ १६ वर्षकै धेरै हो । बैंकले प्रकाशित गरेको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार अधिकांश वित्तीय सूचकांकहरूमा आफ्नो अग्रणी स्थान यथावत राखेको छ ।

निक्षेप, ब्याज आम्दानी, इपीएस, आरओई, बजार पूँजीकरण, शाखा, एटिएम, कर्मचारी संख्याजस्ता सूचकहरुमा बैंकले आफ्नो स्थानलाई यथावत राख्दै सर्वोत्तम प्रगति गरेको छ । आर्थिक वर्ष ०७८÷०७९ को दोस्रो त्रैमासमा सञ्चालन नाफा (कर्जा नोक्सानी व्यवस्थापन पछि), खुद नाफामा दोस्रो स्थानमा रहेको देखिए पनि बैंकको वित्तीय अवस्था हेर्दा अर्को त्रैमासमा पहिलो नम्बरमै रहने देखिन्छ ।

ग्लोबल आईएमइ बैंकको गत वर्षको कर्जा नोक्सानीको लागि छुट्याएको रकम यस त्रैमासमा फिर्ता आएका कारण पहिलो नम्बरमा रहेको देखिन्छ । त्यस्तै, कर्जा विस्तार सबैभन्दा धेरै भए पनि खराब कर्जा भने धेरै कम हुँदै सहज अवस्थामा छ । त्यस्तै सीसीडी रेसियोमा पनि मुलुकमा सञ्चालनमा रहेका वाणिज्य बैंकको औषत अनुपातभन्दा कम हुँदै सहज अवस्थामा रहेको छ ।

‘चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा पनि बैंकले आफ्नो प्रगतिलाई उच्च राख्दै अग्रणी स्थानमा रहेको छ,’ बैंकका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले भने ।
चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकका अन्य प्रमुख सूचकहरु यस्ता छन ।

३ खर्ब निक्षेप संकलन

चालू आर्थिक वर्षको ६ महिनामा बैंक निक्षेप संकलनमा ‘नम्वर वान पोजिसन’ मा यथावत राखेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासको अन्तसम्म आइपुग्दा बैंकले २ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँ बराबरको निक्षेप संकलन गरेको छ । यो मुलुकमा सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै हो ।

मुलुकका वाणिज्य बैंकहरुको औषत निक्षेप संकलन १ खर्ब ४९ अर्ब रुपैयाँ रहेको छ । यस हिसाबले हेर्दा एनआइसी एसियासँगको निक्षेप संकलन फरक १ खर्ब ५० अर्ब २६ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ खर्ब ८७ अर्ब २ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरेको यस बैंकले ६ महिनामा १२ अर्ब ३१ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।

ग्लोबल आईएमई बैंकले दोस्रो स्थानमा रहेर एनआईसी एसिया बैंकलाई पछ्याइरहेको छ । चालू आवको दोस्रो त्रैमासको अन्तसम्म उसले २ खर्ब ७१ अर्ब ९० करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । उसले पछिल्लो ६ महिनामा ३ अर्ब ४६ करोड ८० लाख निक्षेप संकलन गरेको छ । निक्षेप संकलन गर्नेमा तेस्रो नम्बरमा राष्ट्रिय वाणिज्य बैंक र चौथो नम्बरमा नबिल बैंक रहेको छ ।

१५ अर्ब ३ करोड ब्याज आम्दानी 

ब्याज आम्दानी बैंकको मुख्य आम्दानी हो । ब्याज आम्दानीमा पनि एनआईसी एसिया बैंक सबैभन्दा अगाडि छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमास विवरण अनुसार बैंकले १५ अर्ब ३ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत वर्षको चौथो त्रैमासमा १० अर्ब ४९ करोड ४० लाख रहेको ब्याज आम्दानी ४३ प्रतिशत अर्थात ४ अर्ब ५३ करोड ७० लाख रुपैयाँ बढाउँदै १५ अर्ब रुपैयाँ माथि पुर्याएको हो । ब्याज आम्दानीमा दोस्रो स्थानमा १२ अर्ब ८६ करोड ५० लाखसहित ग्लोबल आईएमइ बैंक र १० अर्ब १२ करोड २० लाख सहित नबिल बैंक तेस्रो स्थानमा रहेका छन् ।

५ अर्ब २४ करोड खुद ब्याज आम्दानी  

खुद ब्याज आम्दानीमा पनि एनआईसी एसिया  अन्य बैंक भन्दा अगाडि  छ । यस दोस्रो त्रैमासमा यस बैंकको खुदब्याज आम्दानी ५ अर्ब २४ करोड २० लाख रुपैया रहेको छ । बैैकले ग्लोबल आइएमई बैंक, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक र नबिल बैंकले भन्दा धेरै खुद ब्याज आम्दानी गरेको छ ।
ग्लोबल आइएमईको ४ अर्ब ७९ करोड ५० लाख, वाणिज्य बैंक ४ अर्ब ५२ करोड ३० लाख र नबिल बैंकको ४ अर्ब २२ करोड रुपैयाँ खुद ब्याज आम्दानी रहेको छ ।

३ खर्ब ४४ अर्बको वासलात

वासलात (ब्यालेन्ससिट साइज) कुनै पनि कम्पनीको वित्तीय विवरणको ऐना हो । बैंक तथा वित्तीय संस्थाको कुल पूँजी कति छ भनेर वासलातले देखाउँछ । मुलुकमा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकका रिपोर्टहरु हेर्ने हो भने वासलातको आकारमा एनआईसी एसिया बैंक दोस्रो नम्बरमा रहेको छ ।
चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार यस बैंकको वासलातको आकार ३ खर्ब ४४ अर्ब ५१ करोड ३० रुपैयाँ पुगेको छ । बैंकभन्दा अगाडि रहेको ग्लोबल आईएमई बैंकको वासलात ३ खर्ब ५५ अर्ब ५ करोड ४३ लाख रुपैयाँ रहेको छ । वासलातको आकारमा तेस्रो स्थानमा नबिल बैंक र चौथोमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ ।

९९ करोड फि एण्ड कमिसन आम्दानी 

बैंकको आम्दानीमा फि एण्ड कमिसन पनि एक मुख्य स्रोत हो । यो बैंकको प्रशासनिक फि एण्ड कमिसन हुने आम्दानीमा पर्छ । यस आम्दानीमा पनि बैंक अग्रणी स्थानमै रहेको छ । उसले चालू आर्थिक वर्षको ६ महिनामा फि एण्ड कमिसनबाट  ९८ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ ।

गत वर्षको चौथो त्रैमासमा ९३ करोड ६० लाख रुपैयाँ रहेको फि एण्ड कमिसन आम्दानी ६ महिनामा ५ करोड २० लाख रुपैयाँले वृद्धि भएको छ । फि एण्ड कमिसनबाट गर्ने आम्दानीमा एनआईसी एसिया भन्दा अगाडि ग्लोबल आइएमई बैंक रहेको छ । दोस्रो त्रैमासको रिपोर्टअनुसार उसको उक्त आम्दानी १ अर्ब ११ करोड रहेको छ भने तेस्रो स्थानमा रहेको नबिल बैंकको ८६ करोड ६० लाख रुपैयाँ रहेको छ ।

६ अर्ब ४७ करोड कुल आम्दानी

चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा वाणिज्य बैंकहरुले गरेको कुल आम्दानीमा एनआईसी एसिया बैंक सबैभन्दा अगाडि रहेको छ । उसले ६ महिनाको अवधि ६ अर्ब ४७ करोड ९० लाख रुपैयाँ कुल आम्दानी गरेको छ । गत वर्षको चौथो त्रैमासमा गरेको ५ अर्ब ७ करोड ९० लाख रुपैयाँमा १४ करोड रुपैया अर्थात २८ प्रतिशतले वृद्धि गरेको छ ।एनआईसी एसियापछि ग्लोबल आइएमइ बैंक रहेको छ । उसले ६ अर्ब ४४ करोड २० लाख र तेस्रो स्थानमा रहेको नबिल बैंकले ५ अर्ब ६ करोड ४४ लाख रुपैयाँ कुल आम्दानी गरेको छ ।

२ अर्ब ४० करोड खुद नाफा 

मुलुकमा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैकहरु मध्ये मूनाफा कमाउनेमा दोस्रो नम्बरमा छ, एनआईसी  एसिया बैंक रहेको छ । आफ्नो व्यवसाय विस्तारमा आक्रामक बनाउँदै यो बैंक चालू आर्थिक वर्षको पहिलो त्रैमासमा पहिलो नम्बरमा पुगेको थियो भने  थोरैको फरकले दोस्रो नम्बरमा रहेको छ । बैंकले चालू आवको दोस्रो त्रैमासमा २ अर्ब ४० करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको अन्तिम त्रैमासमा यस बैंकको नाफा २ अर्ब ६ करोड १० लाख रुपैयाँ पुगेको थियो । बैंकले खुद नाफामा ६ महिनामा ३४ करोड २० लाख वृद्धि गरेको छ ।

खुद नाफामा पहिलो नम्बरमा रहेको छ ग्लोबल आईएमई बैंक उसले यस अवधिमा २ अर्ब ६६ करोड ३० लाख रुपैयाँ नाफा निकालेको छ । एनआईसी एसिया बैंक भन्दा पछाडि परेको नबिल बैंकले ६ महिनामा २ अर्ब १८ करोड १० लाख रुपैयाँ खुद नाफा गरेको छ । त्यस्तै, चौथो स्थानमा रहेको सरकारी स्वामित्वको कृषि विकास बैंकको नाफा २ अर्ब ८ करोड ७० लाख रुपैयाँ रहेको छ ।

०.४७ प्रतिशत मात्र निष्कृय कर्जा 

बैंक कर्जा विस्तारमा पनि आक्रामक हुँदै पहिलो नम्वरमा रहेको छ । बैंकले चालू आर्थिक वर्ष ०७८/०७९ को दोस्रो त्रैमासमा कर्जा प्रवाह रकम २ खर्ब ७३ अर्ब ४६ करोड रुपैयाँ पुर्याउन सफल भएको छ । बैंक कर्जा बिस्तारमा जति आक्रमक छ, त्यत्ति नै खराब कर्जामा सजक देखिन्छ । उसले वितरण गरेको कर्जामध्ये ०.४७ प्रतिशत मात्र खराब कर्जा (एनपीएल) रहेको छ ।

खराब कर्जाको मामलामा बैंक सहज अवस्थामा छ । मुलुकमा रहेका प्रत्येक वाणिज्य बैंकको खराब कर्जाको औषत अनुपात १.०९ प्रतिशत रहेको छ । अधिकतम खराब कर्जा ३.०६ प्रतिशत (राष्ट्रिय वाणिज्य बैंक) र न्यूनतम ०.१४ प्रतिशत (नेपाल एसबीआई) बैंकको रहेको छ ।

८६.६८ प्रतिशत सीडी रेसियो

नियामक निकाय नेपाल राष्ट्र बैंकले निक्षेप र पूँजीको आधारमा कति प्रतिशतसम्म कर्जा विस्तार गर्न पाउने भनेर नयाँ नियम कर्जा–पुँजी–निक्षेप अनुपादन (सीडी) तोकिदिएको छ । जसअनुसार सीसीडी रेसियोको ९० प्रतिशतभन्दा धेरै हुनुहुँदैन । राष्ट्र बैंकको यो नियमअनुसार एनआईसी एसिया बैंक धेरै सहज रुपमा रहेका छ । पछिल्लो तथ्यांक अनुसार यस बैंकको सीडी रेसियो ८६.६८ प्रतिशत रहेको छ । यसको अर्थ के हो भने उसको अझै पनि कर्जा विस्तार गर्ने धेरै स्पेस रहेको छ । मुलुकमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरुको औषत सीडी रेसियो ९०.०४ प्रतिशत पुगिसकेको छ ।

४१.४३ रुपैयाँ प्रति सेयर आम्दानी 

हरेक लगानीकर्ताको चासो हुन्छ आफूले लगानी गरेको कम्पनीले कति प्रतिफल दिएको छ भन्ने । उक्त प्रतिफल थाहा पाउनको लागि उक्त कम्पनीको प्रति सेयर आम्दानी (इपीएस) कति छ भन्ने थाहा पाउनुपर्छ । मुलुकमा सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै प्रति सेयर आम्दानी भएको बैंक एनआईसी  एसिया बैंक हो । चालू आर्थिक वर्षको ६ महिनामा यस बैंकको प्रति सेयर आम्दानी ४१.४३ रुपैयाँ पुगेको छ । यो वाणिज्य बैंकहरुमा सबैभन्दा धेरै हो ।

बैंकको प्रति सेयर आम्दानी वृद्धि दर पनि राम्रो छ । गत वर्षको दोस्रो त्रैमासमा प्रति सेयर आम्दानी ३५.७३ रुपैयाँ रहेको थियो । मुलुकका वाणिज्य बैंकहरुको औषत प्रति सेयर आम्दानी १८.४४ रुपैयाँ मात्र रहेको छ । औषत प्रति सेयर आम्दानीलाई तुलना गर्दा एनआइसी एसिया बैंकको आम्दानी २३ रुपैयाँले बढी रहेको छ ।
बैंकपछि धेरै प्रति शेयर आम्दानी भएको बैंकमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको ३२.१२ प्रतिशत, सिद्धार्थ बैंकको २५.१२ रुपैयाँ, नबिलको २३.५९ प्रतिशत, स्टान्र्डड चार्टर्डको २३.०५ रुपैयाँ र ग्लोबल आइएमई बैंकको २२.३९ रुपैयाँ रहेको छ ।

२१.७७ प्रतिशत आरओई 

बैंक तथा वित्तीय संस्थामा लगानी गरेका लगानीकर्ताका लागि स्व–पुँजीमा प्रतिफल (आरओई) ठूलो चासोको विषय हो । बैंक तथा वित्तीय संस्थामा गरेको लगानीको प्रतिफललाई नै आरओई भनिन्छ । अर्थात बैंकले कति लगानी गरेर नाफा कति कमाए भन्ने थाहा पाउने सूचक नै आरओई हो ।

मुलुकमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरु मध्ये सबैभन्दा धेरै आरओई भएको बैंक एनआईसी  एसिया बैंक हो । चालू आर्थिक वर्षको ६ महिनामा यस बैंकको आरओई २१.७७ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा यस बैंकको आरओई २१.७३ प्रतिशत थियो ।

कुल वाणिज्य बैंकहरुको औषत स्व–पूँजी प्रतिफल ११.३९ प्रतिशत मात्र रहेको छ । समग्र बैंकिङ्ग क्षेत्रको औषत स्व–पूँजी प्रतिफलसँग तुलना गर्दा एनआइसी एसिया बैंकको स्व–पूँजी प्रतिफल १०.३८ प्रतिशतले बढी छ । एनआईसी  एसियापछि ग्लोबल आइएमई बैंकको आरओई १५.८५ प्रतिशत, माछापुछ्रे बैंकको १५.१७ प्रतिशत, सिद्धार्थ बैंकको १५.०८ प्रतिशत रहेको छ ।

१ खर्ब १८ अर्ब बजार पुँजीकरण

बजार पुँजीकरणका हिसाबले हेर्ने हो भने वाणिज्य बैंकहरुमा एनआईसी एसिया अगाडि रहेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा यस बैंकको बजार पुँजीकरण १ खर्ब १८ अर्ब २० करोड रुपैयाँ पुगेको छ । बजार पुँजीकरणले सेयर बजारको वर्तमान अवस्था बताउने भएकाले यसलाई सेयर बजारको आकार पनि मानिन्छ ।

३ अर्ब ४२ करोड सञ्चालन नाफा 

चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा यस बैंकको सञ्चालन नाफा (कर्जा नोक्सानी व्यवस्थापन पछि) ३ अर्ब ४२ करोड १० लाख रुपैयाँ रहेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ प्रतिशतले बढी हो । गत वर्षको दोस्रो त्रैमासमा उसको सञ्चालन नाफा ३ अर्ब ३ करोड ८० लाख रुपैयाँ थियो । यस वर्ष एनआईसी एसिया बैंक सञ्चालन नाफामा २५ करोडले कम हुँदै दोस्रो स्थानमा रहेको छ । पहिलो नम्बरमा रहेको ग्लोबल आईएमइ बैंकको सञ्चालन नाफा ३ अर्ब ६७ करोड ७० लाख रुपैयाँ छ ।

गत वर्षको कर्जा नोक्सानीको लागि छुट्याएको रकम फिर्ता आउँदा ग्लोबल आइएमइ बैंकले कर्जा नोक्सानी व्यवस्थापछिको सञ्चालन नाफा बढेको हो । उसको नाफालाई खराब कर्जा र उक्त कर्जाको लागि छुट्याएको रकम फिर्ता आउँदा सघाएको छ । ग्लोबल आइएमईको यस दोस्रो त्रैमासमा २५ करोड रुपैयाँ ५२ लाख रुपैयाँ कर्जा नोक्सानीको लागि छुट्याएको रकमबाट आएको छ । यसले उसको सञ्चालन नाफा बढेको हो ।

अर्कोतिर हेर्ने हो भने कर्जा नोक्सानी व्यवस्थापन अघिको सञ्चालन नाफा सञ्चालन नाफामा भने एनआईसी  एसिया र ग्लोबलको नाफा ५ करोडले मात्र फरक रहेको छ । एनआईसी एसियाको उक्त नाफा ४ अर्ब १४ करोड हुँदा ग्लोबल आइएमईको ४ अर्ब १९ करोड रहेको छ । एनआईसी एसियाको गत वर्षदेखिको सञ्चालन नाफा रफ्तार हेर्ने हो भने अगामी दिनमा पहिलो नम्बरमै रहने देखिन्छ ।

२ खर्ब ७२ अर्ब रिस्क एसेस्टस्

रिस्क एसेस्टस् (जोखिम सम्पत्ती) मा पनि एनआईसी  एसिया बैंक पहिलो नम्बरमा छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा उसको रिस्क एसेस्टस् २ खर्ब ७२ अर्ब ५० करोड ९० लाख रुपैयाँ रहेको छ । जुन वार्षिक विन्दुगत आधारमा ४ प्रतिशतले बढेर ९ अर्ब ४५ करोडले थपिएको छ । जोखिम सम्पत्तिमा एनआईसी  एसिया बैंकले ग्लोबल आईएमई र नबिल बैंकलाई पछाडि पारेको छ । ग्लोबल आइएमई बैंकले २ खर्ब ६७ अर्ब र नबिल बैंकको २ खर्ब २३ अर्ब रुपैयाँ रहेको छ ।

३५८ शाखा र ९४ विस्तारित काउण्टर 

आफ्ना लाखौं ग्राहकलाई बैंकका हरेक काममा सजिलो होस् बैंकले मुलुकभर शाखा विस्तार गरेको छ । शाखा कार्यालय र विस्तारित काउन्टरमा एनआईसी एसिया सबैभन्दा अगाडि छ । उसका जति शाखाहरु अरु कुनै पनि बैंकका छैनन् । एनआईसी एसियाको शाखा संख्या ३५८ पुगेका छन् । समग्र बैंकिङ्ग क्षेत्रको औषत शाखा संख्या १६६ मात्र रहेका छन् । एनआइसी एसिया बैंकको शाखा संख्या यो औषत संख्याभन्दा १९२ ले बढी छ ।

दुई ठूला वाणिज्य बैंक मर्ज भए पनि एनआईसी एसिया बैंकको शाखा उनीहरुका भन्दा धेरै छन् । जस्तो कि केही वर्षअघि जनता बैंकलाई गाभेको ग्लोबल आइएमई बैंकका शाखा २८७ छन् । त्यस्तै, एनआईसी  एसिया बैंकका ९४ वटा विस्तारित काउण्टर छन् भने ८१ शाखारहित बैंकिङ्ग सेवा सञ्चालन भइरहेका छन् ।

४७३ एटीएम 

ग्राहकले बैंकमा राखेको पैसा प्राप्त गर्न सजिलो होस् भनेर बैंकले मुलुकभर एटीएम सेवा उपलब्ध गराएको छ । पछिल्लो तथ्यांकलाई हेर्ने हो भने मुलुकको कुनै पनि वाणिज्य बैंकले बैंकले जति एटीएम मेसिन सञ्चालन गर्न सकेका छैनन् । अहिले बैंकका एटीएमको संख्या ४७३ पुगेको छ । यी शाखाबाट ग्राहकले निःशुल्क सेवा लिन सकिन्छ ।यस बैंकका एटीएम संख्या कुल वाणिज्य बैंकहरुको औषत संख्या भन्दा ३४१ ले बढी छन् । मुलुकभर सञ्चालनमा रहेका कुल वाणिज्य बैंकका कुल एटीएमको औषत संख्या १३२ मात्र रहेका छन् ।

३० लाख ग्राहक 

मुलुकमा सञ्चालनमा रहेका कुल वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै ग्राहक रहेको बैंक हो एनआइसी एसिया बैंक । अहिले बैंकका ग्राहक संख्या ३० लाख पुगेका छन् । यो संख्या कुल बैंकिङ्ग क्षेत्रमा रहेको ग्राहकको संख्याको तुलनामा १७ लाख ५२ हजारले बढी हो । नेपालका बैंकहरुको औषत ग्राहक संख्या १२ लाख ४८ हजार रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार