एआईजी बढुवामा लोक सेवाले माग्यो जवाफ

लोक सेवा आयोगले नेपाल प्रहरीका तीन जना डिआईजीलाई एआईजीमा बढुवा सिफारिस गरिएको बारे बढुवा समितिको सचिवालयसँग लिखित जवाफ मागेको छ ।

बढुवा सिफारिसमा छुटेका तीन जना डिआइजीहरू ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले उजुरी दिएपछि आयोगले मंगलबार बढुवा सिफारिस समितिसँग जवाफ माग्दै पत्र लेखेको हो ।

‘उजुरी परेपछि बढुवा सिफारिस समितिको प्रतिक्रियाका लागि मंगलबार चिठी लेखिएको हो,’ लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले टिभी अन्नपूर्णसँग भने, ‘उजुरी परिसकेपछि त्यसको न्यूनतम् छानविनको लागि बढुवा समितिलाई सोध्नपर्ने भएकाले चिठी लेखिएको हो ।’

रेग्मीका अनुसार तीन एआइजीले दिएको निवेदन सोमबार दर्ता भएको थियो । दर्ता भएको भोलिपल्ट आयोगले बढुवा सिफारिस समितिलाई पत्र लेखेको हो ।

बढुवा सिफारिस समितिमा गृहसचिव, प्रधानमन्त्री कार्यालयका सचिव र नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सदस्यसचिव रहने व्यवस्था छ ।

बढुवा समितिको सचिवालय गृह मन्त्रालयमा हुन्छ । मन्त्रालयका सचिव नेतृत्वको बढुवा सिफारिस समितिले १ चैतमा डीआईजीहरु वसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । तर हालका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याची डीआईजीहरुले वरिष्ठता र कार्यक्षमताका आधारमा बढुवा सिफारिस नगरेको भन्दै लोकसेवा आयोगमा चैत ६ गते उजुरी दिएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार