स्विडेनमा विद्यालय भित्रै दुई शिक्षिकाको हत्या, घटनास्थलमा भेटियो बञ्चरो र चक्कु

स्विडेनमा एक माध्यमिक विद्यालयका दुई जना शिक्षिकाको छुरा प्रहार गरी हत्या गरिएको छ ।दक्षिणी स्विडेनको माल्मो प्रान्तको माध्यमिक विद्यालयमा ५० वर्ष नाघेका दुई जना शिक्षिकाको छुरा प्रहारबाट हत्या भएको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

शिक्षिका हत्याको आरोपमा एक १८ वर्षका विद्यार्थी पक्राउ परेका पनि खबरमा उल्लेख छ । घटना भएको १० मिनेटमै प्रहरी विद्यालयमा पुगेको र हत्याको आरोपमा एक विद्यार्थीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा बञ्चरो र चक्कु भेटिएको प्रहरीले जनाएको छ । हत्याको आरोप लागेका विद्यार्थी आफैँले प्रहरीलाई फोन गरेर बोलाएको र हत्या गरेको स्वीकारेको खबरमा उल्लेख छ ।

आक्रमणको बेला शिक्षक र विद्यार्थी गरी ५० जना भवनमा रहेका थिए । घटनापछि विद्यालयको भवन खाली गरिएको र आतङ्ककारी हमलाको कुनै सङ्केत नमिलेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार