लोसपाका नेतालाई पार्टीमा स्वागत गर्दै ओलीले भने-‘ढुक्क हुनुस् अब जय मधेस’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेसको विकास निर्माणका लागि आफ्नो नेतृत्वको सरकारले धेरै काम गरेको बताएका छन् । उनले एमाले वास्तविक मधेसको जय होस् भन्ने पार्टी भएको दाबी गरे ।

समाजवादी जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रेमबहादुर सिंह, अभिनेत्री करिश्मा मानन्धर र लोसपाका केन्द्रीय सदस्य शिव पटेललगायत नेता तथा कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराउँदै ओलीले मंगलबार उक्त अभिव्यक्ति दिएका हुन् ।

अध्यक्ष ओलीले केही समय एमालेलाई मधेस विरोधी भनेर भ्रम छरिए पनि भ्रम टुटेर मधेसबाट एमाले प्रवेशको लहर चलेको बताए । पछिल्लो समय मधेसका ठूला र प्रभावशाली राजनीतिक व्यक्ति तथा जनप्रतिनिधिहरू एमाले प्रवेश गरिरहेका बेला ओलीले अब मधेसको नेतृत्व एमालेले गर्ने बताए ।

यस क्रममा ओलीले तराईका दलहरूको भने आलोचना गरेका थिए । उनीहरूले उठाएका पहिचानका मुद्दाको पनि उनले कडा आलोचना गरेका छन् ।

ओलीले भने– यहाँ शिव पटेलजीले एमाले प्रवेश गर्दै जय मधेस भन्ने बानी छ भन्नुभयो । अब जय मधेस भन्ने नै एमालेले हो । मधेसको जय गर्ने एमालेले हो । जय मधेस गर्ने ठाउँमा साथीहरू आइपुग्नुभएको छ, ढुक्क हुनुस् अब जय मधेस । मधेसले समृद्धि खोजेको छ,त्यसको नेतृत्व एमालेले गर्छ ।

ओलीले एमालेमा प्रवेश गर्ने कसैमाथि भेदभाव नगरिने भन्दै नवप्रवेशी सबैलाई उचित जिम्मेवारी दिइने बताए । परमादेशबाट एमालेलाई सरकार बाहिर लगिए पनि जनादेशबाट एमाले बहुमतसहित फर्किने दाबी ओलीको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार