काठमाडौं । काठमाण्डौ उपत्यकाको सडकका गल्लीमा फोहोर थुप्रीएको छ । जसको कारणले गर्दा दर्गन्ध फैलिएको छ । यसरी चोक–चोकमा थुप्रिएको फोहर व्यवस्थापन हुन एक हप्ता लाग्ने भएको छ ।
चैत महिना लागेसँगै उपत्यकाको सडक छेउछाउमा थुपारिएको फोहर चार दिनदेखि व्यवस्थापन गर्न थालिएको छ । चैत महिनामा चार दिन र गएको फागुनमा २३ दिन विभिन्न बहानामा फोहर व्यवस्थापन हुन सकेन । लामो समयदेखि फोहर रोकिएको हुनाले नियमितरूपमा व्यवस्थापनको काम हुँदा पनि एक हप्ता लाग्ने कामपा वातावरण विभागका प्रमुख सरिता राईले बताइन् ।
फोहर व्यवस्थापन गरिँदै आएको ठाउँ सिसडोलका स्थानीयवासीले फोहर विसर्जन गर्ने ठाउँ नुवाकोटको सिसडोलसम्मको बाटो कालोपत्र गर्नुपर्ने माग गर्दै गरेको आन्दोलनका कारण फागुन १ गतेदेखि उपत्यकाको फोहर उठ्न सकेको थिएन ।
त्यसैगरी पछिल्लो समय निर्माणाधीन बञ्चरेडाँडाका स्थानीयवासीले निर्माणस्थल वरपरका जग्गा अधिग्रहण गर्नुपर्ने, स्थानीयवासीलाई निःशुल्क उपचार गराउनुपर्ने जस्ता माग राखेका छन् । सहरी विकास मन्त्रालयले निर्माणाधीन दीर्घकालीन फोहर व्यवस्थापनस्थलमा पहिलो सेलको काम सम्पन्न भएको भन्दै फोहर राख्न मिल्ने जनाएको छ ।
अहिले फोहर व्यवस्थापनस्थल सिसडोल भरिएको र निर्माणाधीनस्थलमा पनि फोहर राख्न सुरु गर्नुअघि नै स्थानीयवासीको अवरोधले काठमाण्डौ उपत्यकाको फोहर व्यवस्थापनमा थप समस्या हुने देखिएको कामपाको भनाइ छ ।