काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले युएईसँग लगातार दोस्रो लज्जास्पद हार व्यहोरेको छ । आजको खेलमा पनि ब्याटिङ नचल्दा नेपाले हारको सामना गरेको हो । पछिल्लो समय नेपालको ब्याटिङ कम्जोर हुँदै गएको छ ।
दुबई क्रिकेट रंगशालामा सोमबार भएको खेलमा नेपाल युएईसँग ९९ रनले पराजित भएको हो । युएईले दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको नेपाल ३५ ओभर १ बलमा अलआउट हुँदै १ सय ३ रनमा समेटियो।नेपाल एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यसअघि यति कम योगफलमा समेटिएको थिएन । सन् २०१९मा यूएई सँग भएको खेलमै नेपाली टोली १ सय १३ रनमा सीमित भएको थियो । जुन एकदिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको सबैभन्दा कम योगफल हो ।
आसिफ शेखको स्थानमा आएका ओपनर पवन सर्राफ खेलमा जम्न सकेनन् । उनी मात्र २ रन बनाएर पेभिलियन फर्किए । यस्तै अर्का ओपनर कुशल भुर्तेल लगातार तेस्रो खेलमा खराब प्रदर्शनलाई निरन्तरता दिंदै ५ रनमा आउट भए ।
दिपेन्द्र सिंह ऐरी गोल्डेन डक आउट हुँदा नेपालले ३ ओभर नसकिंदै ८ रनमा महत्वपूर्ण ३ विकेट गुमाउन पुगेको थियो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक रन बनाए । उनले ६५ बल खेल्दै २ चौकाको मद्दतमा ३० रन बनाए ।
अघिल्ला दुई खेलमा लयमा देखिएका रोहित पौडेल आज ९ रनमा आउट हुँदा नेपालको ब्याटिङ धरापमा परेको थियो ।आरिफ शेखले ४० बलमा १५ र जोड्दा बिनोद भण्डारी दुर्भाग्यवस १२ रनमा आउट भए । सोमपाल कामीसँग दोस्रो रनको लागि तालमेल नमिल्दा बिनोद सहज रनआउट भए ।सोमपालले १५ रन बनाएर पेभिलियन फर्किए ।यूएईका जुनाइद सिद्दिकीले ४ विकेट लिए ।