काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले नेपाल बिजुलीमा आत्मनिर्भर हुँदै गएकाले अब बिजुलीको व्यापार गर्ने बेला आएको बताएकी छिन् । आज सोमवार रुकुम पश्चिमको मुसिकोटमा निर्मित विद्युत् सबस्टेशनको औपचारिक उद्घाटन समारोहमा बोल्दै उनले बिजुली व्यापर गर्ने समय आएको बताएकी हुन् ।
जलस्रोतले सम्पन्न रुकुममा भरपर्दो सेवाका लागि ३३÷११ केभी, ३ एमभीए क्षमताको सबस्टेशन सञ्चालन गरिएको भन्दै मन्त्री भुसालले बिजुलीको उपयोग गरेर साना र मझौला उद्योगले उत्पादन बढाउनुपर्ने उल्लेख गरिन्। रुकुमका विभिन्न ठाउँमा किलोवाट क्षमताका विद्युत् गृह सञ्चालन गरिएकाले अब किलोवाटबाट मेगावाट बन्ने उनको भनाइ छ ।
कार्यक्रममा मन्त्री भुसालले रुकुम समाजवादको अभ्यासमा उदाहरणीय जिल्ला भएको समेत दाबी गरेकी छिन् । उनले रुकुमको संस्थागत र पारदर्शी विकास प्रक्रिया अन्य जिल्लाले समेत अनुशरण गर्नलायक रहेको समेत बताईन् ।
आर्थिक विकासको मूल आधार कृषि र वन क्षेत्र भएकाले यस क्षेत्रमा बिजुलीको उपयोगिता बढाउनुपर्नेमा मन्त्री भुसालको जोड छ । सरकारले सिँचाइमा ५० प्रतिशत बिजुली महसुलमा छुट दिएकोले यहाँका खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुग्ने र उत्पादन बढ्ने उनले विश्वास व्यक्त गरिन् ।