प्रहरीले यसरी गर्‍यो उर्मिलाको अन्तिम बिदाइ

विराटनगरमा प्रहरीले लेटाङ घटनामा ज्यान गुमाएकी जवान उर्मिला श्रेष्ठको अन्तिम बिदाइ गरेको छ । मोरङको लेटाङ तनावमा ज्यान गुमाएकी उर्मिलालाई प्रहरी संगठनले अन्तिम बिदाइ गरेर शव परिवारलाई जिम्मा लगाएको छ। विराटनगरस्थित कोशी अस्पतालमा पोस्टमार्टम प्रक्रिया पूरा गरेपछि श्रेष्ठलाई प्रहरी संगठनले अन्तिम सलामी अर्पण गरेको थियो।

साथीलाई अन्तिम बिदाइ गर्नुपर्दा प्रहरी जवानहरु भावुक देखिएका थिए । कोशी अस्पताल परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि उनको शव राखिँदा भेला भएका प्रहरीहरू मलिन अनुहार लिएर कार्यक्रममा सहभागी थिए।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, प्रदेश १ प्रहरी प्रमुख डिआइजी अरूणकुमार जिसी, मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीसहितका प्रहरी अधिकारी, उर्मिलाका सहकर्मीलगायतले उनको शवमा पुष्पगुच्छा अर्पण गरेर अन्तिम बिदाइ गरेका थिए।प्रहरीका अनुसार उदयपुरको त्रियुगा निवासी उर्मिलाको परिवारले शव लिएर गएको छ। उनको अन्त्येष्टि उदयपुरमै गर्ने तयारी छ।

यौन दुर्व्यवहार आरोपी लेटाङ नगरपालिका– ५ को शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेललाई पक्राउ गर्न पुगेको प्रहरी टोली र स्थानीयबीच आइतबार दिनभर झडप भएको थियो ।त्यसक्रममा नेपाल प्रहरीको प्रदेश प्रहरी गणमा कार्यरत महिला प्रहरी जवान श्रेष्ठ गम्भीर घाइते भएकी थिइन् । उनको घाँटीमा गम्भीर चोट लागेको थियो ।

भिडले उनको घाँटी र छातीमा छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । कोसी अस्पतालमा राति ११ बजे शव ल्याइएकी श्रेष्ठको घाँटीमा ठूलो प्वाल रहेको आकस्मिक कक्षका एक चिकित्सकले बताए ।

होलीका दिन होली खेल्ने क्रममा घरमा आएका सामाजिक शिक्षाका विषयका शिक्षक ५६ वर्षीय मनोज पौडेलले आफूलाई यौनदुर्व्यवहार गरेको कक्षा ६ मा पढ्ने १२ वर्षीया छात्राले बताएकी थिइन । उक्त घटनाबारे शिक्षक र अविभावकको आइतबार साँझ बसेको बैठकमा स्थानीयले शिक्षकलाई बन्दी बनाएर आक्रमणको प्रयास गरेपछि नियन्त्रण गर्न परिचालन गरिएका सुरक्षाकर्मीमाथि आक्रोशित स्थानीयले आक्रमण गर्दा प्रहरी जवान श्रेष्ठको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए ।

श्रेष्ठलाई आक्रोशित भिडले छुरा प्रहार गरेको र उनको उपचारका लागि विराटनगर लैजाने क्रममा मृत्यु भएको दाहालले बताए । प्रजिअ दाहालका अनुसार आक्रोशित भिडलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्याँस र हवाई फायर गरेको थियो । त्यस क्रममा लेटाङ ८ का मिलन खड्का र आयुष लिम्बुलाई प्रहरीको गोली लागेको छ । अवस्था सामान्य रहेका उनीहरुको नोवेल शिक्षण अस्पतालमा उपचार भइरहेको दाहालले वताए ।

उत्तेजित भीडले पौडेलसहित अन्य शिक्षकलाई पनि बन्धक बनाएर आक्रमण गर्ने प्रयास गर्दा स्थितीलाई नियन्त्रण गर्न पुगेका प्रहरीमाथि अन्धाधुन्ध आक्रमण गरेका थिए । त्यसक्रममा थप १६ जना सुरक्षाकर्मी घाइते भएको प्रजिअ दाहालले वताए । उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार